नीतिगत भ्रष्टचारमा सक्रिय कोहलपुर : प्रहरीको ‘लोगो र दर्ज्यानी चिन्ह’ नै किर्ते

मुख्य खबर विविध सामाजिक गतिविधि स्थानीय तह

नेपालगन्ज : ‘गोलाकार धानको बाला, माथि नेपालको चन्द्रसूर्य अंकीत झण्डा र तलपट्टी नेपाल प्रहरी सत्यसेवा सुरक्षम्’ लेखिएको नेपाल प्रहरीको लोगो र पदअनुसारका दर्ज्यानी चिन्ह कानूनतः अन्य कुनै निकायले प्रयोग गर्न पाउँछ या पाउँदैन ? यसको कानूनी प्रावधान के छ ? नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग हुबहु मिल्ने दर्ज्यानी चिन्ह नगर प्रहरीलाई दिने आधार के होला ?

नेपाल प्रहरी पूर्व प्रहरी नायब महानिरीक्षक डिआइजी बसन्त लामा भन्छन्, ‘सुरक्षा निकायका लोगो दर्ज्यानी चिन्ह मात्रै होइन, बर्दीसमेत प्रयोग गर्न पाइँदैन । यो सरकारी किर्ते हो ।’ उनले बर्दीसमेत प्रयोग गर्न नमिल्ने अवस्थामा तीन वटै सुरक्षा निकायसँग हुबहु मिल्ने गरी लोगो र दर्ज्यानी चिन्ह प्रयोग गर्नु चरम दुरुपयोग र कानून विपरित भएको बताए ।

‘नगर प्रहरीले नेपाल प्रहरीको लोगो र दर्ज्यानी चिन्ह प्रयोग गर्न पाउँदैन,’ पूर्व डिआइजी लामा भन्छन्, ‘कुन ऐन र कानूनमा टेकेर फुली लगाएका हुन् रु यसले सुरक्षामै गम्भीर प्रश्न उब्जाउँछ ।’ बाँकेका प्रहरी प्रमूख एसपी सुवासचन्द्र बोहराले पनि नेपाल प्रहरीको लोगो र दर्ज्यानी चिन्हसँग हुबहु मिल्ने गरी नगर प्रहरीले प्रयोग गर्न नपाइने बताए ।

उनले भने, ‘यो पाइँदै पाइँदैन । यसरी हुबहु नेपाल प्रहरीको लोगो र दर्ज्यानी चिन्ह प्रयोग गर्नु कानून विपरित हुन्छ ।’ यसका बारेमा थप बुझेर अघि बढ्ने एसपी बोहराले बताए । कोहलपुर नगरपालिका मातहत रहेको नगर प्रहरीले नेपाल प्रहरीको लोगो र दर्ज्यानी चिन्हको दुरुपयोग गर्दै नगर प्रहरीहरुले बलजफ्ती गर्दै आएको देखिन्छ ।

लोगो र दर्ज्यानी चिन्ह दिने आधार के ?

कोहलपुर नगरपालिकाका नगर प्रहरीमा जवान, हवल्दार, असई, सई र इन्स्पेक्टर कार्यरत छन् । नगर प्रहरीका तल्लोदेखि माथिल्लो दर्जासम्मले नेपाल प्रहरीले प्रयोग गर्ने लोगो र दर्ज्यानी चिन्ह प्रयोग गर्दै आएका छन् । नगर प्रहरी प्रमुख बीरबहादुर थापाले इन्स्पेक्टरको दर्ज्यानी चिन्ह प्रयोग गर्छन् । अरु नगर प्रहरीले दर्जा अनुसारको चिन्ह प्रयोग गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ ९क० मा नगरपालिका र गाउँपालिकाले नगर प्रहरी वा गाउँ प्रहरी गठन गर्न सक्ने व्यवस्था छ । तर त्यहाँ नगर प्रहरीको काम, कर्तव्य र अधिकारबारे मात्रै चर्चा छ । त्यस्तै, कोहलपुर नगरले बनाएको कोहलपुर नगर प्रहरी नियमावली–२०७९ मा पनि नगर प्रहरीको दर्ज्यानी चिन्हबारे स्पष्ट उल्लेख छैन ।

तर लोगो भने हुबहु नेपाल प्रहरीकै रहने कोहलपुर नगर प्रहरी नियमावलीमा उल्लेख छ । कोहलपुर नगर प्रहरीको लोगो अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ भनिएको छ । जसमा भनिएको छ, ‘दुईवटा धानको बाला, खुकुरी डण्डा, राष्ट्रिय झण्डा, धानको बालाको मुनि ‘कोहलपुर नगर प्रहरी’ ‘नगरवासीको सेवामा समर्पित’ लेखिनेछ ।’

उक्त लोगोमा दुईवटा धानको बाला, खुकुरी डण्डा, राष्ट्रिय झण्डा हुबहु राखिएको छ भने धानको बालाको मुनि ‘नेपाल प्रहरी’लाई मेटाएर ‘कोहलपुर नगर प्रहरी’ र सत्य सेवा सुरक्षम्’लाई मेटाएर ‘नगरवासीको सेवामा समर्पित’ लेखेर लोगोको दुरुपयोग गरिएको छ । कोहलपुर नगर प्रहरी नियमावली–२०७९ मा नगर प्रहरीमा भर्ना हुन चाहनेका लागि योग्यताबारे मात्र उल्लेख छ ।

नगर प्रहरीको छनोट प्रक्रिया कस्तो हुने, के आधारमा कुन पद दिने तथा दर्ज्यानी चिन्ह के हुने वा कस्तो हुने उल्लेख छैन । नेपाल प्रहरीका पूर्व डिआइजी लामा नगर प्रहरीले नेपाल प्रहरीकै दर्ज्यानी चिन्ह प्रयोग गर्दा आमनागरिकमा भ्रम सिर्जना भएको बताउँछन् । ती चिन्हको प्रयोग विवादास्पद पनि रहेको पनि उनको भनाई छ ।

‘सरकारले यो विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्छ । देशको सुरक्षा निकायसँग नगर प्रहरीलाई दाँज्न मिल्दैन । फरक संगठन भएका कारण उनीहरूको पोशाक फरक हुनुपर्छ र ओहदाको लागि छुटै चिन्ह हुनुपर्छ,’ लामाले भने, ‘काम कर्तव्य र अधिकार फरक भएका कारण नेपाल प्रहरीको दर्ज्यानी चिन्ह प्रयोगभन्दा पनि दुरूपयोग हुने खतरा बढेको छ ।’

डीआइजी लामाले पनि नेपाल प्रहरीको लोगो र दर्ज्यानी चिन्ह प्रयोग गर्न नहुने बताउँछन् । प्रयोग गर्दा पनि सम्बन्धित संस्थाको अनुमति चाहिने उनको भनाइ छ । ‘यो विषयमा स्थानीय सरकारहरु र नेपाल प्रहरी दुवैले भविष्यमा थप विवाद नहोस् भनेर स्पष्ट पार्नुपर्छ । यसलाई दुवैले समन्वयकारी ढंगबाट हल गर्नुपर्छ,’ उनी भन्छन् ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डिआइजी भीमप्रसाद ढकालले कुनै पनि हालतमा प्रहरी कानूनले नेपाल प्रहरी बाहेक अरुले प्रयोग गर्न बन्देज गरेका कुराहरु अरु कसैले प्रयोग गर्न नमिल्ने बताए । केन्द्रीय प्रहरी प्रवक्ता समेत रहेका डिआइजी ढकालले भने, ‘हाम्रो कानूनले हामीलाई गर्ने भनेका कुराहरु अरु कसैले पनि प्रयोग गर्न पाइँदैन ।’

उनले यस विषयमा थप बुझेर अघि बढ्ने बताउँदै भने, ‘नगर प्रहरीले लोगो र दर्ज्यानी चिन्ह हुबहु प्रयोग नगर्न अनौपचारिक रूपमा भनिएको छ । नेपाल प्रहरीको लोगो र दर्ज्यानी चिन्ह प्रयोग गर्नु गलत हो । हामी यसबारे फेरि सचेत गराउँछौं ।’ कोहलपुर नगरपालिकाका सूचना अधिकारी रबिलाल मिजारसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । अन्तैबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *