सामाजिक उत्तरदायित्वमुखी पत्रकारिता

जीवनशैली मुख्य खबर विचार/व्लग विविध

कमल न्यौपाने : विकसित र विकासोन्मुख मुलुकका मिडियालाई सामाजिक उत्तरदायित्वको सिद्धान्तले नै डोहो¥याएको छ । तर सामाजिक उत्तरादायित्वको यो सिद्धान्तलाई व्यावहारिक रूपमा हेर्दा नेपाली पत्रकारिता कुन दिशातिर अघि बढ्दैछ त ? मिडिया र मिडियाकर्मीले आफ्नो सामाजिक दायित्वलाई आत्मसात् गरेर काम गरेका छन् त ? अपवादलाई छाडेर नेपाली मिडियामा ‘कर्पोरेर्ट’ प्रभाव हावी भएको छ । यति सारो थिचिएको छ कि त्यसबाट हत्तपत्त उम्कन पत्रकारितालाई हम्मे पर्ने देखिएको छ । पत्रकारिताको आँखाबाट हेर्दा आम मानिससँग सम्बन्धित सार्वजनिक चासो र सरोकारका हरेक विषय समाचार हुन्, र समाचार बनाउनु पर्ने देखिएको छ ।

सूचना प्राप्त गर्नु नागरिकको मौलिक हक र अधिकार हो । पछिल्लो समयमा सूचना र प्रविधिको जति धेरै विकास भइरहको छ । त्यति नै आम संचार र पत्रकारिता क्षेत्रमा पनि थुप्रै छलफल र बहस हुने गरेका छन् । पेशाको हिसाबले पत्रकारिता आफैमा एक मर्यादित पेशा हो । तर पनि यसमा उब्जने प्रश्न र आम नगरिकको बुझाइले यो बहसको विषय बन्नु स्वभाविक हो । हरेक व्यक्तिका सामाजिक जीवनका आयाम र त्यसका पाटाहरु फरक फरक हुने गर्छन् । तर सबै उत्तरदायित्व पुरा हुँदैन । काम र पेशा फरक फरक भए पनि त्यसभित्रका भोगाई र पीडा आ–आफ्नै हन्छन् । फरक यति हो–लेख्नेको कथा बन्छ भने भोग्नेको व्यथा बन्छ ।

पत्रकारिता जति मर्यादित मानिन्छ, त्यति नै आफैमा चुनौतीपूर्ण पेशा पनि हो । हाम्रो पद, पेशा र भूमिकासंगै जिम्मेवारी र कर्तव्य पनि संगै जोडिएका हुन्छन् । अग्रपंक्तिमा खटिएर सूचना र चेतनाको पैरवी गर्ने पत्रकार स्वभाविक रुपमा पनि अझै बढी जिम्मेवार र उत्तरदायी बन्नुपर्ने हुन्छ । आफ्नो कर्तव्य र जिम्मेवारीबाट विमुख नरही निरन्तर जिम्मेवारी बोध गर्दै आफ्नो कार्यक्षेत्रमा खटिएर कार्य सम्पादन गर्नु अवश्य पनि कम चुनौतीपूर्ण विषय होइन ।

कर्म गर्ने मान्छेले फलको आशा गर्दैन, सधै कर्ममा विश्वास गर्छ । हाम्रो कामको प्रतिफल र परिणामलाई समाजले कसरी हेरेको छ, मूल्यांकन गरेको छ ? के हाम्रो पेशा र हाम्रो कार्यकुशलता उत्तरदायीपूर्ण छ ? हामीले समाजको अझै बढी जिम्मेवारी र उत्तरदायित्व कसरी बहन गर्न सक्छौं ? त्यसमा असल पत्रकारको भूमिका कस्तो रहने ? यी प्रश्नहरुमा हाम्रो ध्यान जान आवश्यक छ ।

सामान्य समाजको बुझाइले भन्ने गर्छ कि पत्रकार भनेको धेरै कुरा जानेको हुन्छ, बुझेको हुन्छ, शिक्षित हुन्छ, सभ्य हुन्छ, सहयोगी हुन्छ, अरुले थाहा नपाएको कुरा पनि थाहा पाएको हुन्छ । तर समाजले वर्षाैंदेखि दिएको यही उपमाको सामाजिक बिल्लामा रमाइरहँदा वा आफ्नो कर्म ठानेर समाजको पहरेदार बन्दा हामीले आफू र आफ्नो पेशालाई कत्तिको मर्यादित र सामाजिक रुपमा उत्तरदायी बनाउन सक्यौं वा सकेनौ ? हाम्रो व्यवहार र कार्यशैलीलाई कत्तिको परिवर्तन गर्न सक्यौं ? यी महत्वपूर्ण बहसका विषय हुन् ।

यतिबेला नेपालमा संचार माध्यमको संख्यात्मक वृद्धि हुँदै गएको देखिएको छ । तर यहाँ प्रश्न उठ्ने गर्छ कि के समय र बजारको माग अनुसारको पत्रकारिताको विकास भइरहेको छ त ? के पत्रकारको क्षमता, पेशा र इमान सन्तोषजनक छ ? के पत्रकारको कार्यकुशलताले संचार उद्यमीलाई सन्तुष्टि दिन सकेको छ ? या त सस्तो लोकप्रियता र नामको लागि मात्र हाम्र्रो पत्रकारिता उद्धत भइरहेको छ ? कि संचार उद्यमीले भने अनुसारको काम र पारिश्रमिकता दिन लायक काम नै गरेका छैनन् ? यी आफैमा सोचनीय पक्ष र बहसका विषय हुन् ।

संचार माध्यमको विकासले रहर मेट्ने कतिपय रहरे पत्रकारलाई क्षणिक समयका लागि प्लेटफर्म बने पनि टिकाउ र विकाउको पत्रकारिता र त्यस खालको जनशक्तिको अझै अभाव खड्किएको छ । मिडियामा प्रवेश गर्न र क्षणिक आत्म सन्तुष्टि मेट्नका लागि मात्र पत्रकार बन्न चाहनेका लागि आफूलाई तलब र नियुक्ति पत्र केही चाहिदैन, भोलुन्टरमै भए पनि काम भए पुग्छ भन्ने रहरे संचारकर्मीको पनि अहिले कमि छैन ।

अहिले मिडिया र पत्रकारको गुणस्तरमा समेत ह्रास आइरहेको छ । पत्रकारितामा उमेर बुढो हुँदैमा र कपाल फुलाउँदैमा त्यसले कुनै अर्थ राख्दैन । अनुभव, योग्यता र क्षमता त परिणाम र प्रतिफलमा देखिने हुनुपर्दछ । आफ्नो पत्रकारिताको वर्ष दाबी गरिरहँदा मैले कति सिकें ? कति जानें ? आफ्नो योग्यता र क्षमताको कति विकास गरें ? म कुन धरातलमा छु ? मैले सिकेको÷जानेको कुराले आफ्नो कार्यकुशलता, व्यवहार र पेशामा कति परिवर्तन गर्न सकें ? आदि प्रश्न र विषयको मूल्यांकनले मात्र आफ्नो अनुभव र क्षमताको पुष्ट्याई गर्न सक्नुपर्छ ।

एउटा संचार माध्यममा छापेको÷लेखेको कुरा उही शीर्षक, उही शब्द, उही वाक्य दर्जनौं संचार माध्यममा कपीपेष्ट भई आइरहेका छन् । यसले समाचारको वस्तुनिष्ठता र सत्यतामा समेत प्रश्न सिर्जना गरिरहेको छ । समाचार तान्ने÷कपीपेस्ट गर्ने विषय होइन, यो त खोज अनुसन्धान गरेर सत्यतथ्य र सावधानिपूर्वक लेख्ने विषय हो । तर यस विषयमा अधिकांश पत्रकारको ध्यान गएको हुँदैन । समाज परिवर्तनको संवाहक र पहरेदारको रुपमा सधै खबरदारी गरिरहने आम संचार र पत्रकारितालाई पनि सामाजिक उत्तरदायित्व सहितको कर्तव्य र जिम्वेवारीमा उभ्याउन आबश्यक देखिएको छ ।

पत्रकारले के गर्न हुन्छ, हुँदैन वा सबै गरे छुट छ ? पत्रकारिता वस्तुनिष्ठ हुनुपर्छ भनेर बहस गरिरहँदा पत्रकार कस्तो हुनुपर्छ ? के पत्रकारिता आफैमा निर्विवाद पेशा हो ? उसले गरेका सबै कामलाई समाजले राम्रो र सत्य नै भन्छ त ? हरेकलाई औंला उठाउने पत्रकारलाई आम नागरिकले औंला उठाउन नपाउने ? यी विषय पछिल्लो समयमा आएका पत्रकारिताका वहसका साधन हुन् ।
प्राय नेपाली मिडियाले अभ्यास गरेको पत्रकारिता ईथिक्समा भन्दा पनि अरुलाई स्वाद दिन सनक र दनकको लागि समाचार लेख्ने, राजनीतिक पूर्वाग्रही हुने, कसैलाई खुसी पार्न र कसैलाई झटारो दिन पत्रकार प्रयोग हुने, आर्थिक प्रलोभनमा स्वार्थका लागि समाचार लेख्ने जस्ता प्रवृत्ति र घटनाहरु कुनै नौला भने होइनन् । तर, पत्रकारले जे गरेपनि छुट अवश्य छैन ।

वर्तमान अवस्थासम्म आइपुग्दा छापा, इलेक्ट्रोनिक, अनलाईन लगायत विभिन्न संचार माध्यमको विकास भइरहेको छ । स्रोत, साधन र प्रविधिको तीव्र विकास भइरहेको छ । मिडिया र पत्रकार पनि बेला बखतमा कैयौं पटक चुकेका प्रशस्त उदाहरण छन् । सामाजिक उत्तरदायित्व सहितको हाम्रो पत्रकारितामा कहिलेकाही प्रश्न सिर्जना गर्ने अवस्था आउनु स्वभाविकै हो । अहिले पनि पत्रकारितामा खोज र मौलिकता हराउँदै गएको छ, यो दुखद् पक्ष हो ।

पछिल्लो समयमा पत्रकारितामा विकृति र चुनौती पनि थपिएका छन् । राजनीतिक कित्ताबन्दीको आधारमा आफ्नो पेशा र मर्यादालाई बिर्सने परिपाटी बढेको छ । फरक पेशा व्यावसायिक संघसंस्था र राजनीतिक संघ संगठनहरुमा पनि पत्रकारको खुल्ला सहभागिता समेत देख्न सकिन्छ । जो बाँकेमा पनि यत्तिकै मौलाएको छ । यसबाट पनि के प्रमाणित हुन्छ भने पेशागत रुपमा विशुद्ध पत्रकारिता मात्र गर्ने श्रमजीवी पत्रकारको संख्या निकै कम छ । जसको कारणले श्रमजीवी पत्रकारका मुद्दा सधै ओझेलमा पर्ने गरेका छन् । कार्यान्वयनमा पनि त्यत्तिकै चुनौती देखिएको छ ।

आम संचार र पत्रकारिताको क्षेत्र निकै व्यापक बनिरहेको छ । यसमा अध्ययन अनुसन्धान र मौलिकतालाई जोड दिनुपर्ने देखिएको छ । भाषण र औपचारिक कार्यक्रमको समाचार बनाएर मात्र अबको पत्रकारिताको साख रहने अवस्था छैन । दुरदराजमा रहेका सूचना र कतिपय आवाज विहीनका आवाज अझै बाहिर आउन सकेका छैनन् । ती आवाज र नागरिकका सरोकारका विषयवस्तु र सूचनालाई बाहिर बुलन्द गर्न आवश्यक छ । यी विषयमा हाम्रो भूमिका र सामाजिक उत्तरदायित्व निकै महत्वपूर्ण मानिन्छ ।

देश संघीयतामा गएपछि स्थानीय निकायलाई अहिले असीमित अधिकार दिएको छ । स्थानीय तहमा भ्रष्टाचार चरम रुपमा मौलाइरहेको छ । बेथिति र विकृति बढिरहेका छन् । जनताको अमूल्य मत लिएर निर्वाचित भएका कतिपय जनप्रतिनिधि साँढे जस्तै बनेका छन् । जनताप्रति जवाफदेही बन्न सकेका छैनन् ।

समानता, सुशासन र न्याय स्थापना हुन सकेको छैन । देशी विदेशी शक्तिको चलखेलले राष्ट्रियता कमजोर बन्दै गइरहेको छ । यसैले यतिबेला पत्रकारले निष्पक्ष र कर्तव्यनिष्ठ भएर कलम चलाउनुपर्ने देखिएको छ । पत्रकारले मर्यादित पत्रकारिता र आफ्नो उत्तरदायित्वलाई सम्झनै पर्ने बेला आएको छ । असल पत्रकार आलोचनाको पात्र बन्ने होइन, समाजको सहजकर्ता र सच्चा पहरेदार बन्नुपर्छ । जय पत्रकारिता

Leave a Reply

Your email address will not be published. Required fields are marked *