अलपत्र कर्णालीको लगानी सम्मेलन : उदासीन मुख्यमन्त्री

अर्थ वाणिज्य मुख्य खबर विविध स्थानीय तह

सुर्खेत : कर्णाली प्रदेश सरकारले गर्ने भनेको लगानी सम्मेलनबारे अझै अन्योलता देखिएको छ । सरकारी उदासीनताले यो निर्णय अन्यौलमा देखिएको हो ।

यसअघि फागुन महिनासम्म लगानी सम्मेलन गर्न सकिन्छ कि भन्ने उद्देश्यले प्रदेश योजना आयोगले बहस चलाए पनि अहिलेसम्म ठोस कार्ययोजना बन्न नसकेको हो । सरकारले लगानी सम्मेलनबारे तदारुकता नदेखाएका कारण अहिलेसम्म मिति नै तोकिएको छैन । यदि फागुनमै गर्ने भए पनि अहिलेसम्म ठोस कार्ययोजना बनाइ आवश्यक तयारी गरिसक्नुपर्ने हो तर, अहिलेसम्म कहिले गर्ने भन्ने विषय नै अन्योलमा छ ।

गत असोज ६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सम्मेलनका क्रममा पेस गरिने आयोजनाहरुको विवरणसहित प्रस्तावना तयार गर्न कार्यदल गठन गरेको थियो । सम्मेलनको तयारीका लागि योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीको नेतृत्वमा पूर्वाधार, सदस्य ऋषि खनालको नेतृत्वमा कृषि, पर्यटन, जडीबुटी र सदस्य जीतबहादुर शाहको नेतृत्वमा सामाजिक विकास गरी तीन वटा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा विषयगत मन्त्रालयका सचिवहरु सदस्य र विषयगत महाशाखा प्रमुख सदस्यसचिव छन् । प्रारम्भिक रुपमा २० भन्दा बढी बुँदामा लगानीकर्ताहरु समक्ष पेस गरिने आयोजनासहितको प्रस्तावित मस्यौदा मुख्यमन्त्री राजकुमार शर्मा समक्ष पेस पनि गरिएको थियो ।

योजना आयोगका सदस्य ऋषि खनालले पनि फागुनसम्म गर्ने कि भन्नेबारे कुरा उठे पनि समय तोक्न नसकिएको बताए । उनका अनुसार कर्मचारीतन्त्रले फागुनभन्दा पछाडि गर्न सल्लाह दिइरहेको छ । ‘ब्युरोक्रेसी साथीहरुले केन्द्रमा ०८१ वैशाख ९ गते लगानी सम्मेलन छ, त्यसको आसापासमा ग¥यौँ भने विदेशबाट आउने दातालाई पनि ल्याउन सकिने आधार हुन्छ भनेर धारणा राखिरहेका छन्,’ खनालले भने, ‘तर, आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री राजकुमार शर्माले भने त्योभन्दा अगाडि नै गर्ने चाहना गर्नुभएको छ ।’

आयोगले सम्मेलनका लागि आधारभूत कन्सेप्ट पेपर तयार गरी मुख्यमन्त्रीलाई पेस गरिसकेको छ । कुन–कुन क्षेत्रमा लगानी गर्न सकिन्छ, प्रोजेक्टको सम्भावित परियोजना यो–यो हुन सक्छ भनेर आफूहरुले आयोगको तर्फबाट पेपर तयार पारेर एक महिनाभन्दा अघि नै दिइसकेको खनालले बताए । यद्यपि त्यसमाथि छलफल अहिलेसम्म भएको छैन ।

खासगरी स्थानीय तह, निजी क्षेत्रसँग सहकार्य, समन्वय गर्नुपर्ने भए पनि अहिलेसम्म त्यो विषयमा समेत छलफल हुन सकिरहेको छैन ।कर्णालीको विकास र आर्थिक समृद्धिमा सहयोग गर्न लगानीकर्तालाई आकर्षित गर्ने भन्दै लगानी सम्मेलनको अवधारणा अघि सारिएको थियो ।

शाही नेतृत्वको सरकारले ०७७ मङ्सिरमै गर्ने भनेको सम्मेलन तयारी नपुगेकाले ०७८ वैशाखमा सम्पन्न गर्ने भनिएको थियो । योजना आयोगका पदाधिकारीहरुले सो अनुरुप तयारी समेत थालेका थिए तर कोरोना महामारीका कारण सम्मेलन स्थगित गरिएको हो । मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले योजना आयोगलाई नै पूर्णता नदिएपछि लगानी सम्मेलनको योजना तुहिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *