मैले देखेको नेपाल

जीवनशैली मुख्य खबर विचार/व्लग विविध

केपी शर्मा ओली : नेपाल धरतीको यस्तो भूखण्ड हो जो असाधारण, अनुपम र अद्वितीय छ । यो विस्मयकारी भूगोल हो । यहाँ सर्वोच्च शिखर सगरमाथा मात्र होइन, ८ हजार मिटरभन्दा अग्ला थुप्रै हिमशिखर छन् । समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको होचो भूभाग कचनाकवल केचना जस्तो ठाउँ पनि यहीं छ । यहाँ प्राकृतिक विविधताका यस्ता अनेक दृष्टान्त छन् ।

हाम्रो हिमालले हिउँ ओढेर बस्छ, चट्टान बोकेर बस्छ र पानी समातेर बस्छ । यहाँ उर्वर र हरिया पहाडहरू छन् । यसका चट्टानभित्रबाट पानीका मुहान फुट्छन् र पुनस्सिञ्चनको प्रक्रिया निरन्तर चलिरहन्छ । यहाँ वनस्पति लगाउनुपर्दैन, आफैं उम्रिन्छ । फूल रोप्नुपर्दैन, आफैं उम्रिन्छ । रूख, लता, लतिका र लहरा वनमा आफैं उम्रिन्छन् । यिनलाई कसैले सिञ्चन गरेको छैन । आफैं रमाएर फुलेका छन्, मुस्कुराएका छन् । कसैका हरिया बाक्ला पात हुन्छन्, कसैका साना मसिना पात । तिनमा बस्न चराहरू आफैं पैदा भएका छन् । तिनको रस चुस्न पुतली, माहुरी, भमरा आदि आफैं उत्पन्न भएका छन् । झारहरूमा खेल्न विभिन्न कीटपतङ्ग आफैं पैदा भएका छन् । पानीहरूमा खेल्न माछा, भ्यागुता, गड्यौला आदि आफैं उत्पन्न भएका छन् । तिनमा पनि उचाइ, पानीको तापक्रम र वेगअनुसार विभिन्न प्रजाति छन् ।

यहाँको पर्या–पर्यावरण कति गजब छ भने पाटेबाघ यहीं छ, हरिण यहीं छ । हरिणले खाने पनि यहीं छ, हरिणलाई खाने पनि यहीं छ । अनौठो चक्र छ प्रकृतिको । अनौठो चक्र छ जीवनको । अक्सिजन लिने जीवन छन् अनि अक्सिजन दिने वनस्पति छन् । यहाँ चिसो र तातो रगत भएका दुई थरी प्राणी बस्छन् । मानिस र अरू जीवजन्तु तातो रगत भएका हुन् भने चिसो रगत भएका सर्प, माछा, भ्यागुतालगायत सरीसृप पनि छन् । जसले जति न्यानोको प्रबन्ध गर्न सक्छ, ऊ चिसो ठाउँमा मस्तसँग बसेको छ । लामालामा रौं भएका चौंरी, याक, भेडा यसका नमुना हुन् । केही व्यावसायिक माछापालनलाई छाड्ने हो भने खेत, खोला र तलाउमा कसैले माछाखेती गरेको छैन । ती आफैं पानीमा अस्तित्वमा छन् ।

यहाँको प्रकृति जीवनमय छ । जीवनलाई सुरक्षित, सहज र अनुकूल बनाउन पशुपालन, खेतीपाती र आगोको प्रयोग यहीं सुरु भयो । फलफूल, कन्दमूल यहीं सृष्टि भए । मरुभूमिमा यहाँको जस्तो मौसमी परिवर्तन देख्न सकिँदैन । यो भूखण्ड चामत्कारिक छ । हात्ती, गैंडा, पाटेबाघ, ध्वाँसे बाघ यहीं पैदा हुन्छन् । अर्ना, नीलगाई, चौंरी, याक यहीं छन् । डाँफे, मुनाल अनि मयूर यतै नाच्छन् । बाह्रसिंगा र मुडुला पनि यहीं छन् । वरिपरि यसो नियाल्यो भने जीवन र प्रकृतिको दर्शन बुझ्न सजिलो हुन्छ । प्रकृतिले आफ्नो निरन्तरता अनि परिवर्तनशीलतालाई बुझेको छ ।

यही भूभागमा ज्ञानको प्रारम्भ भयो । चेतनाको प्रारम्भ भयो । सबभन्दा प्राचीन दर्शन यहींको हो । त्रेतायुगमै हाम्रो जनकपुरमा ब्रह्माण्ड, सृष्टि, जीवन, मरण, चेतना, शरीर आदि विषयमा शास्त्रार्थ हुने गरेको पाइन्छ । बीज के हो रु रूख के हो रु बीजले आफ्नो पुर्खाका सबै कुरा सम्झिएर बसेको हुन्छ । एउटा सुकेको जस्तो देखिने बीज मलिलो माटो पाउनेबित्तिकै उम्रिन्छ । बाउबाजे जस्ता थिए, त्यस्तै हुन्छ । रंग पनि त्यस्तै लिन्छ, आकार, गन्ध पनि उस्तै हुन्छ । देख्दा, सुँघ्दा र छाम्दा त्यस्तै हुन्छ । पुर्खा के खान्थे, त्यही खान्छ । पुर्खा कस्तोमा रमाउँथे, त्यस्तैमा रमाउँछ । बिरुवा उमारेपछि बीज आफू नष्ट हुन्छ । पुर्खाको आकार लिने काम तिम्रो, सन्तानलाई निरन्तरता दिने काम तिम्रो, पुर्खाजस्तै फुल्ने, बास्ना छर्ने र स्वाद दिने काम तिम्रो भनेर सम्पूर्ण कुरा बिरुवालाई जिम्मा लगाउँछ । कुनै लहरो छ भने उसमा कसरी चढ्ने भन्ने ‘जेनेटिक मेमोरी’ हुन्छ । आफ्नो तौल थाम्ने गरी जरा हाल्नुपर्छ भन्ने पनि उसलाई थाहा छ ।

यस्ता विषयमा अष्टावक्र, याज्ञवल्क्य, गार्गी आदिबीच विमर्श हुन्थ्यो । महर्षि जनक आफैं पनि त्यस्ता शास्त्रार्थमा सहभागी हुन्थे । ग्रन्थ, शास्त्र आदि ठेली पछि लेखिएका हुन् । पाँच–छ हजार वर्षअगाडि न अंक बनेका थिए, न त अक्षर । कल्पनाको उडान अनि अन्दाजका भरमा गरिने सुन्दर चित्रण यही भूमिमा भएको थियो । हाम्रो साहित्यिक कलाचेतना असाधारण छ । यो ज्ञानभूमि हो । चेतनाको भूमि हो । दुनियाँको पहिलो बाजा यतै बज्यो, पहिलो गीत यतै गाइयो । मानव कण्ठबाट सुमधुर स्वर निस्कियो, यसै भूमिमा ।

आगो चिन्ने भूमि पनि यही हो । पकाएर खान जान्ने हाम्रै पुर्खा हुन् । अक्षर र अंक यसै भूमिमा जन्मियो । ज्ञान प्रस्फुटन हुन थालेपछि श्रुति परम्परा हुँदै लेख्य परम्पराको सुरुआत भयो । पहिलो वेद लेखियो । मानव चेतना, विकास, राजनीतिको हिसाबले व्यवस्थित थिति, विधि र न्यायप्रणालीको सुरुआत भयो । त्यति बेला समाज विकास र ज्ञान विकासको गति धीमा थियो । तर असाधारण प्रगति भएको थियो । ज्ञानको उन्नतिलाई आगोजसरी जोगाएर राखिएको थियो ।

त्यति बेला भनेको समयमा आगो निकाल्न सकिँदैनथ्यो । हरेक घरले आगो जोगाएर राख्थ्यो । आगो जोगाउने जिम्मेवारी घरको जेठो सदस्यको हुन्थ्यो । धुनी जगाएर राख्नु सानो कुरा थिएन । झटपट वा उत्तिन्खेरै वा छिटै हुने कामलाई ‘आगो लिन जाने जस्तो’ भन्ने आहान नै चलेको छ । आगो नभईनहुने कुरा थियो । कथंकदाचित् आगो निभ्यो भने छिमेकीकहाँ आगो लिन जाने कुरा हुन्थ्यो । सबै सामल ठिक्क पारेर राख्यो, आगो आउनेबित्तिकै पकायो, खायो ।

चिकित्साशास्त्रको थालनी यसै धरतीमा भयो । शल्यक्रिया यही भूमिमा प्रयोग भयो । अश्विनीकुमारसम्मको कुरालाई मिथक मान्ने हो भने पनि ऋषि चरक यसै भूमिमा जन्मिए । उनी आयुर्वेदका जनक थिए । चरकसंहिता आज पनि अस्तित्वमा छ । आधुनिक चिकित्साका जनक हिपोक्रेटसभन्दा पहिले यसै भूमिमा सर्जरी चलेको थियो । त्यति बेला आयुर्वेद व्यवस्थित शास्त्रका रूपमा आइसकेको थियो । लक्ष्मण बिरामी हुँदा हनुमानले सञ्जीवनी बुटी नचिनेर पर्वत नै उठाएर ल्याएको कथा छ । ऋषि सुश्रुतले उहिले नै कोशी किनारमा काटिएको औंला जोडिदिएका थिए । लडाइँमा काटिएर भुइँमा झरेको नाक जस्ताको तस्तै जोडिदिनु सामान्य कुरा थिएन । उनले काटेका घाउ सिलाउने आदि काम गरे । मानवजातिको इतिहासमा त्यो धेरै महत्त्वपूर्ण घटना थियो ।

हाम्रो मध्ययुगीन अर्थतन्त्र आत्मनिर्भर किसिमको थियो । एउटा परिवारको आफ्नै घर र खेतबारी हुन्थ्यो । खेतबारीमा धान, मकै, गहुँ, तोरी, फापर, आलु, सागसब्जीको उत्पादन हुन्थ्यो । पशुपालन आफ्नै हुन्थ्यो । कुखुरा बाख्रा, सुँगुर, राँगा पालेका हुन्थे, आफ्नो आवश्यकताअनुसार तिनलाई प्रयोग गर्थे । गाईभैंसी पालेकाले दूध, दही, मही, घिउ छेलोखेलो हुन्थ्यो । कपासबाट कपडा बुनिन्थ्यो । कुकुर पाल्ने चलन थियो । कुकुरले घरको रखबारी गर्थ्यो । उसले घरवालाको इजाजत नलिईकन कसैलाई सोझै प्रवेश दिँदैनथ्यो । कुकुरले घरको मात्र नभईकन घोडा, बाख्रा, गाई, भैंसी आदिको पनि उत्तिकै रखबारी गर्थ्यो । स्यालजस्ता जनावर कुकुरको छेउमा आउनसमेत सक्दैनथे । त्यति बेलाको कुकुर कामकाजी हुन्थ्यो । सिकार पक्रन पनि मद्दत गर्थ्यो ।

पशुपालन र कृषिमा प्रवेश गरेपछि मानिसले नयाँ कुरा सोच्न थाल्यो । नयाँनयाँ आविष्कार गर्न थाल्यो । एक ढंगले खान–लगाउन पुगेपछि मानिस वाद्यवादन, ढुंगा, माटो र काठको कलातिर लाग्यो । चराको जस्तै भोलिपल्ट कहाँ गई खाने भन्ने चिन्ताबाट मुक्त भएपछि न चिन्तन सुरू हुने हो १ नयाँनयाँ ज्ञानको विस्तारमा पनि यो भूभाग अग्रणी छ । यसबीचमा विकासले धेरै रूप लियो । समुद्र किनारका देशहरूले डुंगाको प्रयोगलाई जहाजमा परिणत गरे । बारुदको प्रयोगले विस्फोटक चिज बनायो । त्यसले युद्ध जित्न मद्दत गर्‍यो । पछि बन्दुकको आविष्कार भयो । देश कब्जा गर्न झन् सजिलो भयो ।

मेसिन, इन्जिन, बारुद र बन्दुकको प्रभुत्वका कारण फिरंगीले हाम्रा धेरै भूभाग नियन्त्रण गरे । तर सबै भूभाग कब्जा गर्न भने सकेनन् । किनभने उनीहरू छिरेर आउन सक्ने गौंडा थिएनन् । उनीहरू उकालोमा कुद्न सक्ने कुरा भएन । हाम्रा पुर्खाले एक किलोमिटरसम्म घुएँत्रो फाल्न सक्थे । जबकि बन्दुकको गोलीले एक किलोमिटर हान्न सक्दैनथ्यो । त्यो मिसाइलको जमाना थिएन । हाम्रा पूर्वजहरूले बहादुरी देखाए । खुकुरी वा तरबार लिएर बन्दुक र तोपसँग लडे । आफूलाई अपराजेय सावित गरे । त्यसैले यो वीरभूमि हो । यो ज्ञानभूमि हो, तपोभूमि हो । यो आविष्कारको भूमि हो । त्यस कारण नेपालीहरू विद्वान्का सन्तान हुन् । वीरका सन्तान हुन् । आविष्कारकका सन्तान हुन् । कुनै समय र कुनै पक्षमा केही कमीकमजोरी देखिनु अर्को कुरा हो ।

मैले पहिले एउटा बीजको कुरा गरें । ओसिने वा गाडिने ठाउँ पायो भने सुकेको बीजले फेरि जीवन पाउँछ । सुकेको बीउभित्र हरियो सौन्दर्य लुकेको हुन्छ । हरेक बीजले आफ्नो पुर्खा सम्झिरहेको हुन्छ । यहाँका जनता विद्वान्, लडाकु र सिर्जनशील पुर्खाको ‘मेमोरी पावर’ हुन् । उनीहरूले खोज–अनुसन्धाताको ‘मेमोरी पावर’ बोकेर बसेका छन् । उनीहरूले अवसर पाए भने धेरै सदुपयोग गर्छन् र चामत्कारिक परिणाम हासिल गर्छन् । नेपाल पराधीन नै नभई जोगिएर बसेको देश हो । त्यसैले हाम्रो स्वतन्त्रता दिवस छैन । किनभने नेपाल कहिल्यै पराधीन भएन ।

हामीसँग राष्ट्रिय गौरव र स्वाभिमानको झन्डा छाड्नै नचाहने जिन वा डीएनए छ । त्यो विद्वत्ता आजको होइन । मानिसले झलझली नसम्झिएको मात्र हो । तर मस्तिष्कले नयाँनयाँ कुरा लिँदै गयो, पुराना कुरा सम्झिएन भने पनि शारीरिक रूपले स्वतस् सम्झना हुन्छ । त्यस कारण मस्तिष्कले छिट्टै समात्न सक्छ । हामीले बाख्राको पाठो वा गाईको बाच्छालाई जुनसुकै उत्कृष्ट स्कुलमा पढाए पनि त्यसलाई कुनै खास प्रगति गराउन सक्दैनौं किनभने उसको पुर्खाको त्यस्तो कुनै लगानी छैन । त्यो ज्ञानको तत्त्व छैन । उसका पुर्खाले उसलाई दिएको मस्तिष्कले त्यस तहमा काम गर्न सक्दैन, जुन तहमा मानिसको पुर्खाले गरेको छ ।

मानिसमा क्षमताको पुनरावृत्ति हुन्छ । बायोलोजिकल जेनेटिक मेमोरी हुन्छ । ज्ञान भनेको थपिँदै जाने प्रक्रिया हो । अन्य देशमा मैले ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ जस्ता मन्त्र पाएको छैन । ‘सत्यं ब्रूयात्, प्रियं ब्रूयात्’ जस्ता मन्त्र अन्यत्रका साहित्यमा किन छैनन् रु हाम्रो साहित्य मानवजातिका उच्चतम वैचारिक उपलब्धिहरूको उचाइमा चढेको छ । यसले सदैव राम्रो कामका लागि उत्प्रेरणा दिएको छ । हाम्रो पूर्वीय साहित्यले सकारात्मक कुराहरू बताउँछ । सद्बुद्धि, सन्मार्ग र सत्कर्ममा प्रेरित गर्छ । सद्ज्ञान, सद्विचार र सद्भाव बाँड्छ ।

यो देवहरूको भूमि हो, देवीहरूको भूमि हो । हामी महान् काम गर्ने आफ्ना पूर्वजहरूलाई देवदेवी भन्ने गर्छौं । तिनका बारेमा कैयौं काव्य रचिए । अनेकन् नाटक लेखिए । अहिले देवी, भगवती आदिको जुन स्वरूप देखाइएको हुन्छ, त्यो त मानिसले आफूलाई मन परेको सुन्दरता छानेको मात्र हो । राम्रा स्याउजस्तो गाला भएकी, लिपस्टिक वा गाजल लगाएकी, सुनका गहनाले पहेंलपुर भएकी, औंठी–मुन्द्रा लगाएकी वा कानसम्म नत्थी लगेकी स्त्रीको तस्बिर अहिलेको चेतनाको परिणाम हो । सुन्दरता सौन्दर्यचेतले निर्धारण गर्ने कुरा हो । मान्छे सुन्दर त छँदै थियो, पहिले नै । त्यसको पनि विकास हुँदै गएको छ । समयअनुसारको सुन्दरता त हुन्थ्यो नै । प्रकृतिले सुन्दर चीज बनाउँछ । फूल कसैले हेर्छ कि हेर्दैन भनेर फुलेको होइन । कसैले सुँघ्छ भनेर बास्ना मीठो बनाएको पनि होइन ।

मानिसमा कहीं न कहीं जैविक प्रवृत्ति हुन्छ । त्यसले सचेतनालाई कमजोर बनाउँछ । त्यसकारण मानिसले कहिलेकाहीं सामाजिक चिन्तन छाडिदिन्छ । जैविक वृत्ति स्वार्थी वृत्ति हो । सचेत वृत्ति भनेको मानवीय वृत्ति हो । सचेत मानववृत्ति र जैविक वृत्तिबीच अन्तरविरोध भइरहन्छ । सामाजिक मूल्य र मान्यताअनुसार आफूलाई जे ठीक लाग्छ, अरूलाई पनि त्यस्तै व्यवहार गर्नुपर्छ भन्नु सचेत मानववृत्ति हो । तर अहिले सामाजिकभन्दा वैयक्तिक र जैविक प्रवृत्ति हाबी भएको देखिन्छ ।

यहाँका मानिस मानवीय र सामाजिक, पवित्र र संगठित भावनायुक्त छन् । यहाँका जनता शान्तिप्रिय र मानवतावादी छन् । यो देवभूमिका बासिन्दा हुन् । देवदेवीका सन्तान हुन् । सिद्धार्थ गौतम किन यही भूभागमा जन्मे र यसै भूमिमा बुद्ध बने रु सिद्धार्थ गौतम विश्वका अरू भागमा किन जन्मिएनन् रु अरू ठाउँमा लडाइँ भइरहेका बेला यहाँ किन शान्तिको सन्देश फैलिन्थ्यो रु यहाँ कसैले बाटो बिराए भने पनि ती सप्रिएर महापण्डित र महाज्ञानी बन्थे । विश्वामित्र, वाल्मीकिहरू त्यसका दृष्टान्त हुन् ।

हाम्रो देशमा पहाडी भूबनोट छ । एउटा पहाड र अर्को पहाडबीच साना–ठूला खोला हुन्छन् । बर्खामा तर्न सकिने कुनै सम्भावना हुँदैन । हिउँदमा पनि कतिपय खोला तर्न सकिँदैन । एउटै भाषा बोल्ने दाजुभाइ पनि कुनै मुहूर्तमा खोला तरेर पारि गएर खेतीपाती र पशुपालन गरेर बस्नाले वारिपारि भए । तिनीहरूबीच एउटा शब्द फरक पर्‍यो, अर्को शब्द फरक पर्‍यो । भाषामै फरक पर्‍यो । चलनचाँजोमा पनि अलिकति फरक पर्‍यो । वारिको पूजामा बेल वा बेलपत्र राख्ने गरिएको थियो भने पारि हुँदा त्यो चिज नपाएर अर्थोकै राख्नुपर्‍यो । वारि धारामा पानी खान्थ्यो भने पारि कुवामा खायो होला । वारि वरपीपलको छायामा बस्थ्यो भने पारिपट्टि अशोक वृक्षको छायामुनि बस्नुपर्‍यो होला । यस्ता कुरामा फरक पर्दै गयो । गीत र बाजा पनि फरक हुँदै गए ।

रमाइलो त मान्छेलाई गर्नैपर्थ्यो । गाउने र नाच्ने गर्‍यो । केही नभए पनि आफन्तको सम्मानमा, मायालु र प्रकृतिको सुन्दरताको वर्णनमा गीत गाउने भयो । महाकाली गएर सुन्नुस् वा मेची गएर, भोजपुर वा सोलु गएर सुन्नुस् वा नेपालगन्ज, थारू भाषामा गाएर सुन्नुस् वा मैथिलीमा, लय र भाषा फरक होला तर सार एउटै छ । आवागमनको कठिनाइले त्यसमा एकरूपता हुन सकेन । झन् समृद्धि र सम्पन्नता थपियो । एउटाले एक थरी ईश्वर भन्यो, कालान्तरमा अर्कोले अर्को थरी ईश्वर भन्यो ।

यस पटक ‘झुलाघाट–चिवाभन्ज्याङ स् समृद्धिका लागि संकल्पयात्रा’ मा पनि हामीले त्यो देख्यौं । कहीं निगालोको झाङ पलाएको छ, त्यहींबाट देवीको नाम राखिएको छ । कोही मन्दिर डाँडाको टुप्पामा छ, त्यसैअनुसार नाम राखिएको छ । काठमाडौंको दक्षिणमा भएकाले दक्षिणकाली नाम राखिएको छ । दक्षिणकाली भनेकी छुट्टै देवी होइनन्, दक्षिणमा बस्ने भनिएको हो । चाँगुको डाँडामा भएकाले चाँगुनारायण, शेष गाउँमा भएकाले शेषनारायण, इचङ्गुमा भएकाले इचङ्गुनारायण नाम रह्यो । ठाउँ अनुसार धार्मिक स्थलका नाम छन् । यसरी सांस्कृतिक, भाषिक विविधता छ । पहिरन र खानपिनमा विविधता छ । यो हाम्रो प्रकृतिले सिर्जना गरेको विविधता हो । यो देश निर्माणको सन्दर्भ र बसाइँसराइले सिर्जना गरेको विविधता हो । समयक्रममा अन्तर्घुतन हुँदै बिस्तारै यो विविधतालाई पनि मिक्स–रिमिक्स गर्दै लगिएको छ । यसले नयाँ सिर्जनशीलता बढाएको छ ।

यस लेखमा मैले आजको कुरा त्यति गरिरहेको छैन । राजनीति, अर्थतन्त्र र राज्यव्यवस्थामा अब केके गर्नुपर्छ भन्ने कुरा त छँदै छन् । हाम्रो गौरवपूर्ण परम्परालाई सुदृढ गरेर जाने हो भने अन्धविश्वासी, धोकापूर्ण, झूट वा अफवाहका मिथ बनाएर जनता अलमल्याउने परम्परा तोड्नुपर्छ । कतिपय ग्रन्थ पैसा दिएर लेखाइएका छन् । पहिलेपहिले हरेक बिहेमा राणाहरूको खाँडो जगाउनुपर्थ्यो । ‘श्री ३ प्रतापी महाराज सर जंगबहादुर राणाजीके वंश में हुँकार, वैरीको टाउकामा खुँडाले ठ्याक’ भनेर केराको थाममा मार हान्ने चलन थियो । नेपाली वीरहरू कलकत्ता, भोटमा लडे पनि जस राणाको टाउकामा दिने चलन थियो । पुस्तकमै ‘स्वस्तिश्री गिरिराज चक्र चूडामणि।।।’ भनेर प्रशस्ति लेखिन्थ्यो । त्यो भनेको भाडाको कृति हो । फलानोको परिवार भगवान्को अवतार हो भनेर रचना गराइन्थ्यो । त्यति बेला वन्दना गर्ने बन्दी राखिएको हुन्थ्यो । त्यो साँचो अर्थमा साहित्य होइन ।

अहिले पनि हाम्रा किल्ला, गढीहरू छन् । ती हाम्रा लागि स्तुत्य र प्रार्थनीय ठाउँ हुन् । हाम्रा तीर्थ हुन्, मन्दिर हुन् । तिनै गढीले हामीलाई जोगाए र हाम्रो स्वाधीनता बचाए । हाम्रा पुर्खा तिनै गढी खडा गरेर लडेका थिए । हाम्रो बहादुरीपूर्ण इतिहासको जिउँदा प्रमाण हुन्, गढीहरू । त्योभन्दा पवित्र के हुन्छ रु त्यसकारण म जुन घडीमा पुग्छु, गढीलाई प्रणाम गर्छु । यद्यपि त्यसमा चेतना छैन, त्यो खुसी पनि हुँदैन, त्यसले दान दिने होइन, आशीर्वाद पनि केही दिँदैन, तथापि हाम्रा पुर्खा, हाम्रो इतिहासप्रतिको गौरवको कुरा हो । सकारात्मक चिन्तन र कृतज्ञताको अभिव्यक्ति हो । तसर्थ हाम्रा गढीहरू ऐतिहासिक स्थल मात्र होइनन्, पूजनीय स्थलहरू पनि हुन् । कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *