नरैनापुर :  ‘न विकास न समृृद्धि’

मुख्य खबर विकास निर्माण विचार/व्लग सामाजिक गतिविधि स्थानीय तह

कमल न्यौपाने :
२०४६ पछि २०७२ सम्मका २६ वर्षमा त बाँकेको नरैनापुरमा खासै विकास हुन सकेन। समृद्धि त सपनै भयो। २०७२ पछिका आठ वर्षसमेत न विकास न समृद्धि  राजनीतिका विकृति र विसंगतिले खर्लप्पै निल्न पुगेको देखिएको छ। यसबीच भएका भ्रष्टाचारका काण्डहरू एक ठाउँमा थुपार्ने हो भने सगरमाथाको उचाइ होचिन बेर छैन।

तर पनि दलीय नेता भन्ठान्नेहरूलाई कुनै संकोच छैन। नागरिकले के सोचेका थिए, के भइरहेछ अहिले ? कुनै समीक्षा छैन दलहरूमा। यसबीच स्वदेशमै अवसरको चाङ लगाउनु पथ्र्यो तर गइरहेछन् युवा गाउँ नै खोक्रो बनाउँदै ज्यानको बाजी थापेर विदेश। खासमा विकास र समृद्धिले आकाश चुम्नुपर्ने थियो तर बाँकेको नरैनापुरमा नत विकास देखियो नत समृद्धि नै ।

जुन जोगी आए नि कानै चिरिएको भने झै यस्तै छ नरैनापुरको चलन । ठुला गफ चुटने र सुकिलो मुकिलो भएर करोडौंको गाडीमा सयर गर्ने जनप्रतिनिधी र असुलीधन्दाका कर्मचारीको हाबी कै कारण नरैनापुरले विकास र समृद्धिको बाटोमा गति लिन नसकेको यथार्थ देखिएको छ ।

यतिबेला नरैनापुर क्षेत्रमा विगतमा अरुले नै गरिदिएको विकासलाई टालटुल गरेर मैले गरे भन्नेको कमी देखिदैन । नरैनापुरमा सडक कहिले कसरी पुग्यो, विजुली कहिले कसरी पुग्यो आम नागरिकलाई अवगतै छ । तर, अहिलेका केही जनप्रतिनिधी अर्काको मेहनतमाथि जस लिइरहेको देखिएको छ । यसले समृद्धि त परै जाओस नरैनापुरमा भएका विकास पनि ध्वस्त हुदै जाने निश्चित छ ।

तीन तहका सरकारका साझा अधिकारको आडमा संघमा बस्ने नेताहरूले चाहिने नचाहिने ऐनहरू पास गरेका छन्। प्रदेशको पनि स्थानीय तहको पनि अधिकारहरू खुम्च्याएका छन्। यसो गर्दा असर के भयो भने विकासका अधिकांश काम कुरा प्रदेश र स्थानीयमा गर्ने गरेर अघि बढायौं तर यसका लागि चाहिने ऐनहरू दिएनौं, अधिकार पनि दिएनौं। परिणाम के हुँदैछ भने ‘विरोधाभास’ बढ्दैछ। संविधान यहीनेर असफल हुन सक्छ।’

संविधान स्वयंमा केही होइन, बरु त्यसले दिएका अधिकारको सुरक्षित अवतरण नै मुलुकको समग्र विकास हो। किनकि सात दशकको अथक प्रयासले पाएको यो संविधान ‘बाँदरको हातमा नरिबल’ बनायौं भने नेपालको भविष्य के होला ? संविधान बनाउँदा एक ठाउँमा उभिएका दलहरू नै यतिबेला चारदिशा फर्किएका छन्। यसरी कसरी हुन्छ नेपालमा विकास अनि कसरी आउँछ समृद्धि ?

मभन्दा माथि मेरो पालिका, क्षेत्र जिल्ला र देश भनेर जबसम्म जनप्रतिनिधीले सोच्दैनन, कर्मचारीले दुईचार रुपैयाँको लालचा देखाउदैनन तबसम्म नरैनापुर मात्रै होइन बाँकेर समग्र देशले काँचुली फेर्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *