आकाशमा हेर्दाहेदै ज्यान गुमाउँछन् कर्णालीवासी

मुख्य खबर विविध समाचार

नेपालगन्ज : कर्णाली प्रदेशका दुर्गम जिल्लामा समयमै नियमित हवाई उडान नहुँदा कयौं नागरिकले ज्यान गुमाउनु परेको छ । सामान्य विरामी हुँदा समेत समयमै उचित उपचारका लागि स्वास्थ्य केन्द्र वा सुर्खेत नेपालगन्ज आउने सक्ने अबसथा नहुँदा यहाँका नागरिक अकालमै ज्यान गुमाउन बाध्य देखिएका छन । हुम्लाको सिमकोट गाउँपालिका– ६ माथिल्लो गाउँका ६ महिने बालकको उपचार अभावमा ज्यान गएको छ ।

सडक यातायातको सुविधा नरहेको हुम्लाका सुरज सुनारले निमोनिया, झाडापखाला र रुघाखोकीका पीडित छोरा इमरानलाई जिल्ला अस्पताल हुम्लाको सिफारिसअनुसार थप उपचारका लागि नेपालगन्ज लैजान खोजेका थिए । सात दिन लगाएर उनले ३० हजार खर्च जोहो पनि गरे, तर जहाज आएन । पछिल्ला तीन दिन हरेक बिहान ६ बजे नै उनी सिमकोट विमानस्थल पुग्थे, तर जहिल्यै दिउँसो १२ बजेसम्म मौसम खराब भइरहन्थ्यो । दिउँसो १–२ बजे मौसम खुल्थ्यो, जहाज नै आउँदैनथ्यो । उपचार नपाएरै शुक्रबार बिहान ६ बजे नाबालक इमरानले ज्यान गुमाए ।

गत १४ साउनमा जिल्ला अस्पताल ल्याएका इमरानलाई भर्ना गरियो । तर, आइसियू आवश्यक पर्ने भएपछि अस्पतालका डाक्टर रोशन रावतले जिल्लाबाहिर लैजान रेफर गरेका थिए । ‘हामीकहाँ आइसियू, भेन्टिलेटर र एनआइसियू सेवा छैन,’ वरिष्ठ अनमि सरिता बोहोराले भनिन्, ‘जटिल खालको निमोनिया भएकाले ती बालकलाई आइसियूमा राख्नुपर्ने थियो ।’

गत साउन १० मा मुगुको खत्याड गाउँपालिका– १ का ६० वर्षीय बिर्खबहादुर कार्कीको पनि उपचार अभावमा बाजुरामा ज्यान गएको थियो । बाजुरामा उपचार सम्भव नभएपछि रेफर गरिए पनि तीन दिनसम्म कोल्टी विमानस्थलमा जहाज नआएपछि उनले उपचार नपाएरै ज्यान गुमाएका थिए ।

मुगु कर्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी हिमा बुढा पनि उपचारका लागि नेपालगन्ज जान बुधबार नै ताल्चा विमानस्थल पुगिन् । एक दिन पैदल हिँडेर भोलिपल्ट ताल्चा विमानस्थल पुगेकी बुढाले शुक्रबारसम्म जहाज पाएकी छैनन् । ‘पेटमा सात महिनाको गर्भ छ, नाकमा मासु पलाएकाले अप्रेसन गर्नुपर्नेछ, त्यही उपचार गर्न भनेर हिँडकी थिएँ, जहाज पाइएको छैन,’ उनले भनिन् । मुगुदेखि नेपालगन्जसम्मको साढे तीन सय किलोमिटर सडक सार्वजनिक यातायातमा पार गर्न दुई–तीन दिन लाग्छ । त्यसमाथि बर्खासँगै कर्णाली राजमार्गका ठाउँठाउँमा पहिरो खसेकाले कतिखेर सडक अवरुद्ध हुन्छ, टुंगो हुँदैन ।

सिमकोट विमानस्थलका वरिष्ठ अधिकृत मनोज ढुंगेलले तीन दिन जहाज नआएको बताए । ‘बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म उडानका लागि केन्द्रबाट परिपत्र भएको छ । तर, बिहान मौसम खराब हुने भइरहेको छ,’ उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले दुर्गम जिल्लाको समस्या नबुझेर बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म जहाजको उडान भर्न पाउने नयाँ तालिका लागू गरेको छ । तर, हुम्लालगायत दुर्गम जिल्लामा प्रायः बिहान मौसम खुल्दैन, दिउँसो घाम लागेपछि मात्र मौसम सफा हुन्छ ।

सडक सुविधा नभएका र सडक भए पनि यातायातको भरपर्दो सुविधा नभएका कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला तथा सुदूरपश्चिमका बाजुराका बिरामीको एम्बुलेन्स भनेकै जहाज हो । तर, यहाँ हवाई सेवा पनि नियमित हुँदैन । त्यसमाथि प्राधिकरणले नयाँ नियम ल्याएपछि थप समस्या भएको छ ।

प्राधिकरणले १५ साउनदेखि लागू हुने गरी अप्रेसन आवरबाहेकको समयमा वायुसेवा कम्पनीलाई हेलिकोप्टर उडान अनुमति नदिने निर्णय पनि गरेको छ । यो निर्णयको असर पनि दुर्गमका बिरामीलाई परेको छ । यस क्षेत्रका बिरामीको उद्धार गर्न हेलिकोप्टरसमेत प्रयोग हुने गरेकामा बिहान ६ बजेदेखि दिउँसो साढे १२ बजेसम्म उडानका लागि मात्र अनुमति दिन थालिएको छ । कर्णालीका १० जिल्लामा आठ विमानस्थल छन् । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *