मुख्य खबर स्थानीय तह

ओखलढुङ्गा । दलितलाई शिव मन्दिरमा पूजाआजा गर्न रोक लगाउने जातीय विदेभको मुद्दा जिल्ला स्थित स्थानीय सरकार र सुरक्षा निकायका प्रमुखकै उपस्थितिमा मिलापत्र गराउने प्रयास गरिएको छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं – ४ स्थित रुम्जाटारको शिव मन्दिरमा शिवरात्रीको अवसरमा पुजा गर्न दलित समुदायका व्यक्तिलाई शनिबार मन्दिरको रेखदेख गर्दै आएका लक्ष्मण गुरुङ लगायतले अवरोध गरेका थिए ।

‘हाम्रो समितीले यस्तै निर्णय गरेको छ ‘बाहिरबाटै पूजा गरेर जाओ, भित्र पस्न पाईँदैन’ भन्दै मन्दिर प्रवेश गर्न नदिईएको पीडितहरुले बताएका छन् ।

गुरुङले तिमिहरु मन्दिर प्रवेश गर्न पाउँदैनौँ भन्दै कहिले मन्दिरको गेट लगाईदिने, कहिले ढोकामा हातले छेकेर बस्ने र कहिले पछाडीबाट तान्ने जस्ता दुव्र्यवहार गरेको स्थानीय प्रेमकुमारी बिकको भनाई छ ।

मन्दिर प्रवेशमा रोक लगाएपछि लाईनमा बसेका केहि दलितहरु बाहिरबाटै पुजा गरेर फर्किएका थिए भने कोहि त्यसै फर्किएका थिए ।

यसैक्रममा पुजा गर्न प्रतिकार गर्दै मन्दिर प्रवेश गरेकी एकजना दलित महिलालाई भने गुरुङले बाहिरबाटै ताला लगाईदिएर भागेका थिए ।

घटनाबारे आफूहरुले मिडियालाई बताउने भनेपछि अर्का ब्यक्ति आएर ताला खोलिदिएको पीडितहरुको भनाई छ ।

सोहि विषयमा उनी लगायत शिव मन्दिर संरक्षण समितिका पदाधिकारीहरुले मिलेमतोमा दलितलाई अवरोध गरेको भन्दै सयौँको संख्यामा उपस्थित भएका दलित समुदायले आईतबार जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

उनीहरुले दोषीलाई कानुनी कारबाही सहित सार्वजनिक स्थलहरुमा निर्वाध प्रवेश र पहुँच हुनुपर्ने, सबै मन्दिरहरुमा दलितलाई पूजाआजा गर्न दिन पर्नेलगायतका माग राखेर ज्ञापन बुझाएको दलित अगुवा युवराज गजमेरले बताए ।

आइतबार दिउँसो भएको घटना साँझ पत्रकारहरुले खोजिनिति गरेपछि स्थानीय बसेर माफी माग्न लगाइ मिलाउने प्रयास गरेका थिए ।

यस अघि पनि रुम्जाटारमा दलितलाई मन्दिर प्रवेशमा रोक लगाइएको मात्र नभइ मन्दिरमा ताला लगाएर राख्ने गरिएको समेत खुल्न आएको छ ।

यस घटना बारेको समाचार विभिन्न संचारमाध्ययमा प्रकाशित भएपछि वडा तहमा मिलापत्र गराउन प्रयास गरिए को थियो ।

पीडकले गाउँमा माफी मागे पनि पीडित पक्षले पीडकलाई कारवाहीको माग सहित आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्ना र ज्ञापन पत्र दिएका थिए ।

दुवै पक्षलाई बोलाएर साँझ ७ बजेसम्म भएको छलफलपछि सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, डिएस्पी दिपकबहादुर लगायतको उपस्थितिमा ५ बुँदे निर्णय गरेर दोषीलाई उन्मुक्ति दिने प्रयास गरेका छन ।

उनीहरुले मन्दिरहरुमा लगाएको ताला खोल्ने, सबै दलितलाई निर्वाध रुपमा मन्दिर प्रवेशको बातावरण बनाउने, मन्दिर व्यवस्थापनमा दलितको प्रतिनिधित्व गराउने, अब उप्रान्त दलितलाई मन्दिर प्रवेश गर्न रोक लगाउनेमाथि कारवाही गर्ने भन्ने निणर्य गरेर जातीय विभेद गर्नेलाई उन्मुक्ति दिने निणर्य गरेका हुन ।

छलफल कक्षबाट पत्रकारलाई बाहिर निकालियो, भिडियो डिलिट गर्न दबाब

दलित समुदायको ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । प्रजिअकै कार्यकक्षमा ज्ञापनपत्र सहित पुगेका दलित अगुवा संगै पत्रकारहरु पनि कार्यकक्षमा प्रवेश गरेका थिए ।

यसैक्रममा पीडितले आफ्नो प्रतिक्रिया दिँदै गर्दै पत्रकारहरुले भिडियो रेकर्ड गरेका थिए । प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बिचमै रोकेर पत्रकारहरुलाई भिडियो नखिच्न र रेकर्ड भएको फुटेज समेत डिलिट गर्न दबाब दिइन् ।

‘पीडितको एकतर्फी कुरा छ अहिले तपाईँहरुले भिडियो नखिच्नुस र खिचेको पनि डिलिट गर्नुस,’ प्रदर्शनी कुमारीले भनिन् ।

छलफलमा के निर्णय हुन्छ, हामी त्यो सार्वजनिक गर्छौँ अहिले तपाईहरु बाहिर बसिदिनुस भन्दै उनले पत्रकारहरुलाई कार्यकक्ष बाहिर पठाएकी थिइन् । पत्रकारहरुलाई बाहिर निकालेपछि साँझमा सुरक्षा प्रमुखहरु र मेयर समेत बसेर जातीय विभेदको घटना कारवाही नगरी मिलापत्र गर्ने निणर्य गरेका हुन ।

नेपालको संविधानको प्रस्तावना, जातीय तथा अन्य छुवाछुत र भेदभाव (सजाय र कसुर) ऐन, २०६८ ले जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव विरुद्धको अधिकार हरेक नागरिकको सुरक्षित गरेको छ ।

सो ऐनमा प्रत्येक व्यक्तिलाई जातीय तथा अन्य छुवाछूत तथा भेदभाव हवरुद्धको अधिकार हुने, सामाजिक सेवामा समान पहँुचको अधिकार, सार्वजनिक स्थानमा समान पहुँचको अधिकार हुने, कसैले जातीय तथा अन्य छुवाछूत र भेदभाव गर्न, दुरुत्साहन गरेमा ऐन बमोजिमको कसूर गरेको मानिने उल्लेख छ ।

राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले यो घटना गम्भीर भएको भन्दै मिलापत्र गराउन नपाइने बताए ।

उनले गृह मन्त्रालयलाई यसबारे सोध्ने र अनुसन्धान गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *