खोइ बस्ती, खोइ खोलो सुक्यो ! अहिले बगर बनेको यो ठाउँमा कुनै समय बस्ती पनि थियो

मुख्य खबर स्थानीय तह

कुनै बेलाको सानो तर गहिरो खोल्सीजस्तो बसही खोला यतिबेला पैदल पार गर्न झन्डै पाँच मिनेट हिँड्नु पर्छ। खोलाको एक किनाराबाट अर्को किनाराबीच बगर र खाल्डाखुल्डीबाहेक केही छैन। झट्ट हेर्दा मरुभूमि जस्तो लाग्छ।

अहिले बगर बनेको यो ठाउँमा कुनै समय बस्ती पनि थियो।

ढल्केवर–जनकपुर सडकबाट एक किलोमिटर पश्चिमतर्फ मिथिला नगरपालिका–१ हुँदै अघि बढ्छ बसही खोला। यो खोला सुख्खा मौसममा प्रायः सुख्खै रहन्छ। वर्षायाममा चाहिँ बाढी उर्लिन्छ।

केहीदिन अघि  दिउँसो खोला किनारमा पुग्दा भेटिए वडा नम्बर एकका बासिन्दा इन्द्रदेव महतो।

कुरा हुँदै जाँदा उनले आफ्नो परिवारले भोगेको विगत सुनाए। उनले बगरतर्फ देखाउँदै भने ‘यही ठाउँमा हाम्रो पुर्ख्यौली घर थियो। निकै ठूलो टोल। एक रातको भीषण बाढी आयो। हाम्रो सिंगै टोल बगाइदियो।’

२०३५ सालमा आएको त्यो भीषण बाढीले लक्ष्मीवास नामको त्यो टोलका झन्डै साढे दुई सय घरपरिवार विस्थापित गराइदियो।

त्यो टोलको उत्तरतर्फको बस्ती अझै छँदैछ।

मानिसहरू भागेर बाँचे। विस्थापित भएका करिब सय परिवारले दक्षिणतर्फ बस्ती बसाए। इन्द्रदेवहरू खोलानजिकैको अर्को बस्ती नक्टाझिज पुगे।

विस्थापित मध्येका एक रामजी यादवका अनुसार धेरै जसो परिवार अलिक पर एकै ठाउँमा सरे। सुरक्षित ठाउँमा सरेपछि केही आनन्दको सास फेर्न पाए। नयाँ बस्तीको नाम पनि आनन्दपुर रह्यो।

केही परिवार महोत्तरीको गौशाला गए। केही त आफन्त खोज्दै भारत पनि पसे।

‘हामी त सबै सुतेका थियौँ। राति १२ बजेतिर अचानक ठूलो बाढी आयो। जमिन कटान गर्दागर्दै घरहरू पनि बगायो,’ रामजीले भने, ‘गाउँमा भयानक कोलाहल मच्चियो। हामी भागाभाग भयौँ तर त्यो मध्यरातमा हामीलाई सघाउन कोही पनि आएनन्।’

उनका अनुसार केही मानिसलाई चोटपटक लागे पनि कसैको ज्यान गएन। लत्ताकपडा र केही सामान जोगाउन सके। बाँकी सबै बगरमा परिणत भयो।

जथाभावी चुरे फडानीका कारण बस्ती विनाश हुने गरी ठूलो बाढी आएको रामजीको बुझाइ छ ।

‘त्यति बेला खेती गर्ने र बस्ती बसाउने नाममा जथाभावी वन फडानी गरियो। नदी किनारका रूख काटिएपछि माटोको पकड रहेन। माथिबाट आएको बाढी खोलाले थेग्न सकेन,’ उनले भने।

चुरेमा पनि फडानी बढ्दै गयो। बाढी आउने क्रम बढ्दै गयो। बसही खोलो झनझन् फराकिलो हुँदै गयो।

बस्ती उठेपछि र खोलो फराकिलो भएपछि ग्राभेल र बालुवा ठेकेदारलाई झन सजिलो भयो। खोला खन्दाखन्दै खाल्डैखाल्डा भए।

‘चुरेको तल भावरमा गोली झैँ रफ्तारमा पानी बग्छ। रफ्तारको पानी ठूला खल्डामा ठोक्किँदै जमिन कटान गर्न थाल्छ,’ रामजीले भने, ‘ठेकेदारका लागि कुनै मापदण्ड छैन। हामीले विरोध गरेर छ महिनादेखि खोला खन्न बन्द छ तर फेरि आउलान् भन्ने डर छ।’

बालुवा निकालेर बनाइएका खाल्डो। तस्बिर : रोहित महतो।

स्थानीयबासीहरूका अनुसार नगरपालिकाले खोला ठेक्कामा दिन्छ तर उत्खननको अनुगमन गर्दैन।

मिथिला नगरपालिकाको वडा नम्बर एकका वडाध्यक्ष जोगी महतोले यसअघिका मेयरले जथाभावी उत्खनन गर्न छुट दिएको आरोप लगाए।
उनले किसानको खेत र बस्तीको जोखिम ध्यानमा राखेर हाल उत्खनन बन्द गरिएको पनि बताए।

स्थानीय बासिन्दा रामउदगार रविदासका अनुसार चुरे फडानी र उत्खननले तराई क्षेत्रका खोला किनारका बासिन्दाको उठिबास हुने क्रम बढेको छ।

उनले भूमिगत पानीको सतह तल सर्दै गएको बताए। उनका अनुसार बितेको ३० वर्षमा भूमिगत पानीको सतह ३० फिट तल पुगेको छ।

उनले भने, ‘तीस वर्षअघि ४०–४५ फिटमा पानी आउँथ्यो, अहिले ७५ फिटसम्म खन्नु पर्छ।’

रामउद्गारका अनुसार जमिनको उत्पादकत्व पनि धेरै घटेको छ। तीस वर्षअघि सिँचाइ नगरी उत्पादन हुने जमिन अहिले मरुभूमि जस्तो बनेको छ।

‘खेतीपाती चौपट भएपछि युवाहरू विदेश पलायन भए। बेरोजगारी बढ्यो,’ उनले भने।

यस्तो असर एकदुई ठाउँमा मात्रै सीमित छैन।

क्षीरेश्वरनाथ नगरपालिका–४, छेरीपोखरीमा पनि २०४५ सालमा बाढीले करिब ६५ घरपरिवारको एउटा बस्ती नै उठाइदिएको थियो। बस्तीको चिह्नका रूपमा एउटा इनारको भग्नावशेषमात्र बाँकी छ। स्थानीय बासिन्दा रामबहादुर साहका अनुसार बाढीले बस्ती उठाएपछि विस्थापितहरूले करिब दुई किलोमिटर पर हालको क्षीरेश्वरनाथ नगरपालिका–६, सखुवा बजारमा नयाँ बस्ती बनाए।

उनीहरूले जसोतसो आफ्नो बस्ती त बनाए तर आर्थिक अवस्था दयनीय बन्दै गयो।

सोही बस्तीका बासिन्दा महञ्जी यादवले भने, ‘साउनका दिनमा बाढीले छोपेपछि भागेर बाँच्यौँ। घरको कुनै पनि सामान जोगाउन सकिएन। मेरो अढाई बिघा खेत सबै बगर भयो।’

बाढी राति अचानक आएको थियो। बस्तीका मानिसहरूले ज्यानबाहेक केही पनि जोगाउने समय पाएनन्।

‘बाढी आएको थाहा पाउनसाथ घर लड्न थालिहाल्यो। मान्छे बाँच्याँै तर धेरै चौपाया बगे,’ रामबहादुरले भने।

घरखेत बगेर हिँड्नु परेपछि आजसम्म आफ्नो आर्थिक अवस्था सुधार हुन नसकेको रणमाया देवीले बताइन्। उनले पनि आफ्नो अढाई बिघा खेल बगर भएको बताइन्।

चुरेबाट आउने तराईका धेरै खोला आजकाल सुख्खा छन्। चुरेमा हुने गरेको अनियन्त्रित फडानी र उत्खननले तराईमा यस्तो अवस्था सिर्जना भएको विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार चुरे दोहन नियन्त्रण नभए तराईमा प्राकृतिक विपत्ति आइरहनेछ। पानीको हाहाकार हुने खतरा बढेको छ।

चुरे क्षेत्रका अनुसन्धानकर्ता रहेका वातावरणविद् डा. विजयकुमार सिंहका अनुसार राष्ट्रपति चुरे संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला भूसंरक्षण कार्यालय लगायतका सरकारी निकायहरूले चुरे संरक्षणको प्रयास गरेका भए पनि अपेक्षित उपलव्धि हुन सकेको छैन।

तराई क्षेत्रमा बाढीले गर्ने विनाशको मुख्य कारण चुरेको अधिक दोहन नै रहेको उनी बताउँछन्।  उनले नेपालमा रेल चल्न थालेपछि चुरे फडानी सुरु भएको बताए।पूर्व–पश्चिम राजमार्ग निर्माणको क्रममा पनि चुरेमा अत्यधिक वन फडानी भएको थियो।  विस्तारै उत्तर–दक्षिण सडकहरू बने। फडानी झन बढ्यो।

मलेरिया उन्मूलन भएपछि पहाडी क्षेत्रबाट बसाइँ सरेर धेरै मानिस तराई पुगे। यस क्रममा तराईमा धेरै फडानी भयो। बसाइँ सरेर आएकाहरूले वन फाँडेर खेतीका लागि जमिन निकाले।

धेरै ठाउँमा सिसौ र खयरको पुरानो जंगल मासियो।

धानुषमा लक्ष्मीवास र छेरीपोखरी बाढीले विनाश गरेका बस्तीका दृष्टान्त हुन्।

क्षिरेश्वरको छोरीपोखर गाउँ विस्तापित भयोो तर त्यहाँको इनारको अवशेष भने छ। तस्विर : रोहित महतो।

वातावरणविद् डा. सिंहका अनुसार तराईका खोला किनारमा बाँस हुर्काउनु कटान नियन्त्रको सबैभन्दा राम्रो उपाय हुन्छ।

उनी भन्छन्,‘बाँसले राम्ररी माटो समाउँछ, छिटो हुर्किन्छ। सबै रूखबिरुवाले पानी सोसेर जमिनभित्र पु¥याउँछन्। तराईमा यस्तो प्राकृतिक प्रक्रिया धेरै हदसम्म अवरुद्ध भएको छ।’ 

उनका अनुसार जंगल मासिँदै जाँदा चुरे क्षेत्रबाट बगेर आएको गिटी र बालुवाका कारण खोलाको सतह बढ्दै गयो। थोरै बाढी आउँदा पनि पानी खोला छिचोलेर खेत र बस्तीमा पस्न थाल्यो।

डा. सिंहले स्वाभाविक प्राकृतिक प्रक्रिया अवरुद्ध भएपछि क्षति बढ्दै गएको बताए। भएको वनजंगल संरक्षण, नयाँ वन विस्तार र चुरे संरक्षणले मात्र समस्या न्यूनीकरण हुने उनको भनाइ छ। यो खबर सेतोपाटी खबर मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *