‘प्रत्येक वडामा नमुना विद्यालयदेखि सुशासन र भ्रष्टाचाररहित उपमहानगर’ बनाउने कमरुद्दिन राईको प्रतिबद्धताः

मुख्य खबर स्थानीय तह

बाँके बैशाख २३ गते ।
नेपाली काँग्रेस र जनता समाजवादी जसपाको गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईको प्रतिबद्धतापत्र आज सार्वजनिक गरिएको छ ।

जनता समाजवादी पार्टी नेपालगन्जका नगर अध्यक्ष श्रवणकुमार यादवको सभापतित्वमा भएको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई, पुर्व मन्त्री मोहम्मद इस्तियाक राई, निर्वाचन परिचालन तथा सचिवालय समिति नेपालगन्जका संयोजक डा.सुरेश कुमार कनोडिया, नेपालगन्जका उपप्रमुख उमा थापामगर, जसपाका केन्द्रीय सदस्य हिक्मत विक प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।

उक्त प्रतिबद्धतापत्रमा १२ वटा एजेण्डालाई प्रमुखताका साथ उठाईएको छ । शिक्षा, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, रोजगारी, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति तथा पर्यटन, भूमि तथा आवास, भौतिक पूर्वाधार, भ्रष्टाचार नियन्त्रण तथा सुशासन र अपांंगताको सवालमा काम गर्ने उल्लेख गरिएको छ । शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाको साझेदारीमा विभिन्न प्राविधिक कार्यक्रमहरुको रहेको प्राविधिक शिक्षालय संचालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । आफु निर्वाचित भए उपप्रमुख पदका उम्मेदवार राईले एक वडा एक नमुना विद्यालयको अवधारणा अघि बढाइने बताए ।

यस्तै कृषिमा नेपालगन्ज उपमहानगरपालिकाभित्रका वडाहरुलाई कृषि पकेट क्षेत्रको रुपमा वर्गिकरण गरिने उल्लेख गरिएको छ । ती वडामा सिंचाइँको व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यस्तै भारतीय तरकारी व्यवस्थापनका लागि किसानहरुलाई अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहन गरिनेपनि उल्लेख गरिएको छ । महिला तथा बालबालिकाहरुको सवालमा महिला हिंसा न्यूनिकरणका लागि विशेष कार्यक्रम संचालन गरिने भएको छ । अनाथ बालबालिकाहरुको संरक्षणका लागि उपमहानगरपालिका स्तरबाट बालगृह संचालन गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै बेराजगार समस्या समाधानका लागि युवाहरुलाई विभिन्न किसीमका रोजगारमुलक तालिमहरु संचालन गरिने छ । यस्तै महिला लक्षित घरे लघुउद्यमहरुको संचालन गरिने कुरा पनि उल्लेख गरिएको छ ।

यस्तै प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्ति, आधुनिक प्रयोगशालालगायत सरकारले निर्धारण गरेको मापदण्डमा रहेर निःशुल्करुपमा औषधि वितरण र आपूर्तिमा नियमितता गरिने उल्लेख छ ।

युवा तथा खेलकुदका सवालमा सम्पूर्ण विद्यालयमा खेल शिक्षकको व्यवस्था गरिने कुरामा जोड दिइएको उपप्रमुख पदका उम्मेदवार राईले बताए ।

उनले नेपालगन्ज उपमहानगरपालिकाभित्रका सम्पूर्ण घरहरुमा स्वच्छ खानेपानीको व्यवस्था गरिने पनि प्रतिबद्धतापत्रमा समेटिएको उनले बताए । नेपालगन्जको फोहर व्यवस्थापन, संस्कृति तथा पर्यटन, भूमि तथा आवासलगायतको समस्या समेत निराकरण गरिने उनले बताए ।

कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टले सम्बृद्ध नेपालगन्जका लागि राईसँग मिलेर काम गर्ने भन्दै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई, पुर्व मन्त्री मोहम्मद इस्तियाक राई, निर्वाचन परिचालन तथा सचिवालय समिति नेपालगन्जका संयोजक डा.सुरेश कुमार कनोडिया, नेपालगन्जका उपप्रमुख उमा थापामगर, जसपाका केन्द्रीय सदस्य हिक्मत विक लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *