आईतबार देखि नै लागू हुने गरी, सरकारले फेरि बढायो गाडी भाडा !

अर्थ वाणिज्य मुख्य खबर स्थानीय तह

काठमाडौं । व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो ।

सरकारले पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न लागिएको जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मन्त्रालयले भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै आइतबारसम्म समायोजन गरिने बताएका छन् । ‘व्यवसायीले भाडा समायोजन गर्न माग गर्दै आउनुभएको छ, मन्त्रीस्तरीय निर्णयबाट भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति आएको छ,’ उनले राजधानीसँगभने ।

विभागका महानिर्देशक घिमिरेले अहिले कुनै जिल्ला वा ठाउँ विशेषका लागि नभएर अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा ढुवानीका साधनमा मात्र भाडा समायोजन गरिने बताएका छन् । अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर आइतबार सार्वजनिक गरिने घिमिरेले बताएका छन् ।

आइतबारदेखि नयाँ भाडादर : महानिर्देशक घिमिरे

भाडा समायोजनअन्तर्गत कति वृद्धि गर्ने भन्ने टुंगो लाग्न बाँकी छ । विभागले अहिलेसम्म ३४ प्रतिशत डिजेलमा मूल्यवृद्धि भएकाले त्यसलाई आधार मानेर वृद्धि गरिने जनाएको छ ।

संघ सरकारले लामो दूरीको भाडा बढाएपछि प्रदेश सरकारहरूलाई पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउन बाटो खुल्नेछ । संघको निर्णयसँगै छोटो तथा मध्यम दूरीको सवारीसाधनको भाडा पनि वृद्धि हुने देखिएको छ ।

याे खबर राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *