काठमाडौंको सामुदायिक स्कुलले अन्तर्राष्ट्रिय पुरस्कार पायो

मुख्य खबर विकास निर्माण स्थानीय तह

एउटा सामुदायिक विद्यालय १७ वर्षमा राष्ट्रिय स्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो। यही बीचमा एक पटक तेस्रो भयो। उक्त अवधिमै यही विद्यालय तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो। दुई पटक बागमती प्रदेश स्तरमा उत्कृष्ट ठहरियो।

यसरी १७ वर्षमा दस पटक उत्कृष्ट ठहर भएर पुरस्कृत भएको हो संघीय राजधानी काठमाडौंको तरुण माध्यमिक विद्यालय।

शिक्षा नियमावलीमा उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने व्यवस्था छ। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइइ) मा कम्तीमा पचास जना विद्यार्थी सहभागी गराएर कम्तीमा पचासी प्रतिशतलाई उत्तीर्ण गराउने सामुदायिक विद्यालय र सो विद्यालयको उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था शिक्षा नियमावलीमा छ। 

यसैअनुसार तरुण मावि राष्ट्रिय र क्षेत्रीय स्तरमा पुरस्कृत भएको हो। 

तरुण माविले ‘अन्तर्राष्ट्रिय स्कुल पुरस्कार’ पनि पाएको छ। प्रधानाध्यापक बाबुराम न्यौपानेका अनुसार ब्रिटिस काउन्सिलबाट उक्त पुरस्कार प्राप्त भएको हो।

उनले भने, ‘एक वर्षभित्र विद्यालयले गरेका काम हेरेर काउन्सिलले आठ वटा अतिरिक्त क्रियाकलाप दिएको थियो। ती सबै काम उत्कृष्ट ठहरिएपछि हाम्रो विद्यालय सम्मानित भयो।’ 

काठमाडौं महानगरपालिकाले ‘एक वडा एक नमूना विद्यालय’ छनौट गर्दा वडा नम्बर १६ बाट तरुण मावि पर्‍‍यो। नमूना भएको विद्यालयलाई महानगरले अतिरिक्त आर्थिक सहयोग गर्छ। विशेष गरी विद्यालयको बाहिरी सजावट, हरियाली, भित्ते लेखन जस्ता कामका लागि महानगरले पैसा दिएको प्रधानाध्यापक न्यौपानेले बताए। 

तरुण माविमा पूर्वप्राथमिकदेखि कक्षा दससम्म पढाइ हुन्छ। हाल कुल एक हजार ९४८ जना विद्यार्थी छन्, ९४४ जना छात्र र एक हजार चार जना छात्रा। कक्षा दसमा मात्रै २७७ जना छन्, गत वर्ष २१९ जना थिए। सबभन्दा बढी कक्षा नौ मा २८१ जना र सबभन्दा कम कक्षा दुईमा ७० जना छन्। 

शैक्षिक वर्ष २०७८ मा उत्कृष्टमा पर्न एसइइमा कम्तीमा २३६ जना विद्यार्थी उत्तीर्ण हुनुपर्छ। 

स्कुल भवनमा जम्मा ३२ कोठा छन्। तीमध्ये २८ वटामा कक्षा सञ्चालन हुन्छ। कक्षा कोठामा सरदर ४५ जना विद्यार्थी अटाउने क्षमता छ तर ८० जनासम्म राखेर पढाउनु परेको छ। ४७ जना शिक्षक भए पनि विद्यार्थी संख्याअनुसार निकै कम भएको प्रधानाध्यापक न्यौपानेको भनाइ छ। 

बालाजु बाइपास चोकबाट मुख्य सडक छोडेर भित्री ओरालो बाटो जाँदा फेला पर्छ तरुण मावि। न्यौपानका अनुसार विद्यार्थी संख्याअनुसार भौतिक संरचना निकै अपुग छ। अझ हरेक वर्ष विद्यार्थी संख्या बढ्दैछ। 

बीस वर्षअघि तरुण माविमा पाँच सय हाराहारी विद्यार्थी थिए। २०५८ सालयता क्रमशः बढ्दै गयो। बीस वर्षमा विद्यार्थी झन्डै चार गुणाले बढे।

प्रधानाध्यापक न्यौपानेले विद्यार्थी बढ्नुको कारण बताए, ‘२०५८ सालमा तरुण मावि पहिलो पटक देशको उत्कृष्ट स्कुल ठहरियो। उक्त वर्ष एसएलसी दिएका सबै विद्यार्थी उत्तीर्ण भएका थिए। राष्ट्रिय स्तरमा एक नम्बरमा परेपछि अभिभावकहरू तरुण मावि खोज्दै आउन थाले। त्यसयता विद्यार्थी बढेका बढ्यै छन्।’ 

अर्को कारण छ पनि छ।

अभिभावकको मागअनुसार तरुण माविले अंग्रेजी माध्यममा पढाउन थाल्यो। सामुदायिक विद्यालयमा नेपाली माध्यममा मात्रै पढाइ हुन्छ भन्ने धारणा तरुण माविले तोडिदियो। अंग्रेजी माध्यममा पढाइ हुने भएपछि अभिभावकहरूले छोराछोरी निजी स्कुलबाट निकालेर ल्याउन थाले। 

न्यौपानेका अनुसार मूल्यांकनको लेटर ग्रेड प्रणाली लागू हुनुअघि एसएलसीमा अधिकांश विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुन्थे। उनले भने, ‘अंग्रेजी माध्यमबाट पढाइ र एसएलसीको उत्कृष्ट नतिजाले तरुण मावितिर अभिभावक र विद्यार्थीको आकर्षण बढ्यो।’

बिन्दा सिम्खडा तरुण माविकी शिक्षक हुन्। २०७० सालमा उनी शिक्षक बनेर एउटा निजी स्कुलमा प्रवेश गरेकी थिइन्। त्यसको तीन वर्षपछि तरुण माविमा पढाउने अवसर पाइन्। उनका छोरा विश्वजित निजी विद्यालयमै पढ्थे। छोरालाई पनि कक्षा नौमा पढाउन तरुणमै लगिन्। 

‘छोराको पढाइ राम्रो थियो, निजी स्कुलमै भए पनि निःशुल्क थियो,’ उनले भनिन्, ‘म तरुण माविमा आएपछि छोरालाई पनि यहीँ ल्याएँ। अर्को वर्ष उसले ए प्लस ग्रेडमा एसइइ उत्तीर्ण गर्‍यो।’ 

उनका अनुसार विश्वजित अहिले काठमाडौं विश्वविद्यालयमा एमबिबिएस पढ्दै छन्। देशकै उत्कृष्ट विद्यालयको शिक्षक हुन पाएकोमा आफूलाई गौरव लागेको बिन्दाको भनाइ छ।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नाम चलेको विद्यालयको शिक्षक हुँ भन्न पाउँदा खुसी लाग्छ,’ उनी भन्छिन्, ‘मन खुसी भएपछि काममा पनि लगाव हुँदो रहेछ।’ 

सबै कक्षामा विद्यार्थीको उत्कृष्ट नतिजाका लागि शिक्षकहरू सधैं लगनशील रहेको प्रधानाध्यापक न्यौपानेले बताए। अधिकांश शिक्षक तालिमप्राप्त छन्। मैत्रिपूर्ण वातावरण, पठनपाठन, विद्यार्थी र शिक्षक दुवैको लगनशीलता लगायतले नै स्कुल उत्कृष्ट हुन सकेको प्रधानाध्यापक न्यौपाने बताउँछन्।

तर आवश्यक सुविधा भएन भने राम्रो स्कुल पनि सोचेजसरी सञ्चालन गर्न सकिँदैन। तरुण माविको अवस्था पनि यस्तै छ। विद्यालयमा हरेक वर्ष भर्नाका लागि थेगिनसक्नु चाप हुन्छ। सीमित भौतिक सुविधाका कारण धेरै विद्यार्थी फर्काउनु पर्छ।

‘शौचालयको अभाव छ। बेलाबेलामा खानेपानीको पनि समस्या आइपर्छ,’ न्यौपाने भन्छन्, ‘मुश्किलले व्यवस्थापन गर्न सकेका छौं।

एउटा कोठामा ८० जना विद्यार्थी राखेर पढाउन पनि सजिलो छैन। चञ्चले स्वभावका केटाकेटीको ध्यान केन्द्रित गरेर शिक्षण सिकाइ प्रभावकारी बनाउन शिक्षकले निकै परिश्रम गर्नुपर्छ, सिप पनि चाहिन्छ। धेरै जना एकआपसमा मिलेर बस्ने, शान्त रहने, पढाइमा ध्यान केन्द्रित गर्ने जस्ता पक्षमा विद्यार्थीलाई पनि प्रशिक्षित गराइएको न्यौपाने बताउँछन्।

तरुण माविमा दुई वर्षअघि निजीबाट आइपुगेकी विद्यार्थी हुन् कक्षा १०  मा पढिरहेकी करिना तामाङ। स्वयम्भू बस्ने उनी हरेक दिन सार्वजनिक गाडी चढेर विद्यालय पुग्छिन्। थोरै साथीसँग बसेर पढेकी करिनालाई तरुणमा बानी पर्न निकै समय लाग्यो।

‘म छ कक्षामा पढ्दा १६ जना थियौं। यहाँ त ८० जना भएको कक्षामा बस्नु पर्‍यो,’ करिनाले भनिन्, ‘सुरूसुरूमा धेरै गाह्रो भयो, पछि बानी पर्दै गएँ।’

कक्षा ६ देखि लगातार सामुदायिक स्कुल पढेका विद्यार्थीले उच्च शिक्षामा अतिरिक्त अवसर पाउने भएकाले पनि राम्रा मानिएका सामुदायिक स्कुलमा चाप बढ्ने गरेको छ। राम्रो पढाइ र शिक्षण शुल्क नलाग्ने भएपछि सामुदायिक विद्यालयमा आकर्षण बढ्नु स्वाभाविक ठान्छन् प्रधानाध्यापक न्यौपाने। 

काठमाडौंका सबैजसो सामुदायिक विद्यालयझैं तरुण माविमा पनि अधिकांश विद्यार्थी उपत्यका बाहिरबाट आएर अस्थायी बसोबास गर्नेहरू छन्। धेरैजसो कमजोर आर्थिक अवस्थाका अभिभावकका छोराछोरी छन्। सिन्धुपाल्चोक, धादिङ, काभ्रे, नुवाकोट लगायत जिल्ला र दुर्गम पहाड तथा तराईका विद्यार्थी छन्। 

प्रधानाध्यापक न्यौपानेका अनुसार स्कुलका कक्षाकोठा प्रविधिमैत्री बन्दै छन्। स्मार्ट बोर्ड जडान हुँदै छ। कक्षा ८ देखि १० सम्मका दस वटा कक्षा कोठामा पहिलो चरणमा स्मार्ट बोर्ड राखेर डिजिटल माध्यमबाट पढाउने तयारी भइरहेको छ। बाँकी कक्षा कोठामा बिस्तारै काम अघि बढ्नेछ।

तरुण माविले शैक्षिक पूर्वाधारका लागि संघीय र प्रदेश सरकारबाट अनुदान पाएको छ। चालु शैक्षिक वर्षमा तरुण मावि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पनि छनोट भएको छ। यस कार्यक्रमबाट प्राप्त हुने बजेटले ४० वटा ल्यापटप किनेर स्मार्ट कक्षा चलाउने योजना छ। 

‘कक्षा कोठा थप्न पहल भइरहेको छ,’ प्रधानाध्यापक न्यौपानेले भने।

सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन, शिक्षक मेहनती हुँदैनन् भन्ने आमधारणाको विपरीत छ तरुण मावि। देशका अन्य सामुदायिक विद्यालयले पनि यसबाट सिक्न सक्छन्! 

साभार सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *