पल शाह र पूजा शर्मा अभिनित चलचित्र “म यस्तो गीत गाउँछु २” नेपालगन्जमा हाउसफुल

मुख्य खबर समाचार स्थानीय तह

नेपालगन्ज : दर्शकको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र “म यस्तो गीत गाउँछु २”लाई दर्शकको अत्याधिक साथ देशभर मिलिरहेको छ।

कोरोनाका कारण २ वर्ष ढिलो रिलिजमा आएको चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो। रियल हिरो पल शाह र नायिका पूजा शर्मा स्टारर चलचित्रले यतिबेला हलहरुमा दर्शकहरु तानिरहेको छ।

राजधानीमा दर्शकको राम्रो साथ पाएको चलचित्रले राजधानी बाहिर पनि दर्शकको राम्रो साथ पाएको छ। राजधानी बाहिरको कुरा गर्नुपर्दा नेपालगन्जमा रिलिजको पहिलो दिन दर्शकको ठिकै साथ पाएको चलचित्रले दोस्रो दिन अत्याधिक साथ पाएको छ।

शनिबार नेपालगन्ज स्थित “क्युएफएक्स सिनेमाज बागेश्वरी”मा १२ बजेको शो हाउसफुल भएको हलका प्रबन्धक सन्जीव शाक्यले फिल्मीपत्रलाई जानकारी दिए। प्रबन्धक शाक्यका अनुसार १२ बजेको शो हेर्न आउने दर्शकले टिकट नपाएपछि ३ बजेको शोको लागि टिकट लिएका थिए।

उनले फिल्मीपत्रसंगको कुराकानीमा भने, “शुक्रबारको तुलनामा आज शनिबार दर्शकको संख्या ह्वात्तै बढ्यो। सायद यो क्रम केही दिनसम्म जारी नै रहन्छ होला। किनकी अलि लामो समयपछि हलमा राम्रो चलचित्र लागेको छ।”

दु:खद कुरा त के छ भने यता चलचित्रलाई दर्शकको राम्रो साथ मिलिरहेको दृश्य यस् चलचित्रका नायक पल शाहले अवलोकन गर्न नै पाएका छैनन् । एक गायिकालाई जबर्जस्ती करणी गरेको जाहेरी यतिबेला पल शाह माथि परेको छ। प्रहरीका अनुसार पल यतिबेला फरार अभियुक्तको सुचिमा छन् ।

तर चलचित्रकि नायिका पूजा शर्माले भने हलसम्म पुगेर दर्शकसंग भेटघाट गर्दै प्रतिक्रिया लिइरहेकी छिन् । सुदर्शन थापाको निर्देशन एवम कथा रहेको चलचित्रमा म्युजिकल लभ स्टोरीलाई देखाइएको छ।

पल र पुजाका अलवारिहर शर्मा, दिनेश डीसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको अभिनय छ । साढे दुई करोडको लगानी रहेको चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *