घोराहीमा ट्रकको ठक्करबाट युवकको मृत्युपछि दिनभर तनावग्रस्त: ६ प्रहरी घाइते, २० सेल अश्रुग्यास प्रहार 

मुख्य खबर स्थानीय तह

सवारी दुर्घटनामा एक जना युवकको मृत्युपछि दिनभर तनावग्रस्त बनेको घोराही अहिले शान्त बनेको छ। 

घोराही उपमहानगरपालिका वडा नं. ३ का १९ वर्षीय अर्जुन खड्काको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले घोराही-लमही सडकखण्ड अवरूद्ध गरेका थिए। 

घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१– ख– ९४०४ नम्बरको ट्रकले घोराहीतर्फ आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान पौने सात बजेतिर घोराही ३ को भानपुर चोकमा ठक्कर दिँदा खड्काको मृत्यु भएको थियो। 

त्यसपूर्व दुई मोटरसाइकल आपसमा ठोक्किँदा खड्का ट्रकमुनि पर्न गएका थिए।

पहिला घोराहीबाट-लमहीतर्फ जाँदै गरेको लु ६ प ८८१४ नम्बरको मोटरसाइकल र खड्का सवार रा २ प ८९२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

लु ६ प ८८१४ नम्बरको मोटरसाइकल चोरीको भएको तथ्य सार्वजनिक भइसकेको छ। सोही नम्बर प्लेटको मोटरसाइकल प्रहरीले सोमबार नै काठमाडौंमा फेला पारी नियन्त्रणमा लिएको छ। 

घटनालगत्तै दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडकखण्ड अवरूद्ध पारेका थिए। 

बिहान ७ बजेदेखि अवरूद्ध सडक ११ बजेसम्म पनि बन्द गरेपछि प्रहरीले लामो समय सडकखण्ड बन्द गर्न नपाइने भन्दै सडक खोल्ने प्रयास गरेको थियो। त्यसपछि स्थानीय थप आक्रोशित बन्न पुगेका थिए।

‘पीडितसँग समन्वय नै नगरी जबरजस्ती सडक खोल्न खोजेपछि स्थानीय थप आक्रोशित भएका हुन्,’ एक स्थानीयले भने,‘आज प्रहरीले संमयता नपनाउँदा दिनभरजसो तनावपूर्ण स्थिति सृजना भयो।’

प्रहरीले माइकिङ गर्दै सडकखण्ड सुचारू गर्न खोजेपछि स्थानीयले ढुंगा प्रहार सुरू गरेका थिए। 

स्थानीयबासी तथा दाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायण भुसालले बल प्रयोग गर्नुभन्दा सम्झाइ-बुझाइ स्थिति शान्त पार्न प्रयास नगर्दा स्थानीय आक्रोशित बनेको बताए। 

स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले झन्डै २० सेल जति अश्रग्यास प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

‘एक जना प्रहरी निरीक्षकसहित ६ जना प्रहरी घाइते भएका छन्,’ एसपी काफ्लेले भने, ‘एक जनाको औला भाँचिएको छ। प्रहरी निरीक्षकको अनुहारबाट अहिले पनि रक्तश्राव भइरहेको छ।’

घाइते प्रहरीको घोराहीमै उपचार भइरहेको एसपीले बताए। 

‘भिडबाट न्याय खोज्न लागेर कहाँ हुन्छ,’ एसपीले भने, ‘त्यति लामो समयसम्म बाटो राजमार्ग बन्द गर्दा अरूले सास्ती पाउँछन् नि!’

आक्रोशित स्थानीयले घोराही ३ भानपुरस्थित प्रहरी बिट पनि भत्काइदिएका छन्। 

घटनाले उग्ररूप लिन थालेपछि प्रहरीले पनि समंम्यता अपनाएको थियो। त्यसपछि प्रहरी प्रशासन, स्थानीय अग्रजहरूको छलफलपछि स्थिति शान्त बनेको हो।

बिहान ७ बजेदेखि बन्द बाटो दिउँसो साढे १ बजेपछि खुलेको प्रहरीले जनाएको छ। 

चोरीको मोटरसाइकल चलाउने व्यक्तिलाई पहिचान र दोषीलाई कानुनबमोजिम कारबाही गर्ने सहमतिपछि सडकखण्ड खुलेको हो।

सहमतिअनुसार कानुनबमोजिम पाउनुपर्ने दुर्घटना बीमा बापतको काजकिरिया खर्च ट्रक धनीले सोमबार नै पीडित परिवारलाई बुझाएको एसपी काफ्लेले जानकारी दिए। 

वाणिज्य संघका पूर्वअध्यक्ष नारायण भुसालले सडकको दुर्दशाका कारण नसोचेको दुर्घटना हुन पुगेको तर्क गरे। 

‘त्यहाँ खाल्डो रहेछ र ट्रक पनि स्पिडमै रहेछ। दुइटा मोटरसाइकल आपसमा जुधेपछि खड्का त्यही ट्रकमुनि पुगेको देखियो,’ भुसालले भने, ‘यो जीर्ण सडककै कारणले भएको एउटा दुःखद् घटना हो। त्यसमध्ये चोरीको मोटरसाइकल चलाउने व्यक्तिको पहिचान र खोजी हुन आवश्यक छ।’

चोरीको मोटरसाइकल चलाउने व्यक्तिको पहिचान तथा खोजीका लागि प्रहरी परिचालन भइसकेको एसपी काफ्लेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *