निकै सुरक्षित मानिने रुसी हेलिकप्टर कसरी भयो दुर्घटना ? भारतका रक्षा प्रमुख विपिन रावतको निधनः

मुख्य खबर स्थानीय तह

भारतका रक्षा प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको छ। बुधबार उनीसहित १४ जना चढेको विमान भारतको तामिलनाडुमा दुर्घटनामा परेको हो। विमानमा सवार १३ जनाको मृत्यु भएको छ। भारतीय अखबार द हिन्दूका अनुसार रावतको लागि तामिलनाडु पुलिसले उच्च सुरक्षा ‘जेड प्लस’ व्यवस्था गरेको थियो।

रावत भारतीय वायु सेनाको एमआई–१७भी५ हेलिकप्टरमा तामिलनाडुको वेलिंटनमा डिफेन्स सर्भिस स्टाफ कलेजतर्फ प्रस्थान गरेका थिए। अखबारका अनुसार एक प्रहरीले भने, ‘हामीलाई जनरल रावतको गाडीको सडकको सुरक्षा व्यवस्थाको जिम्मा दिइएको थियो।’

रावत चढेको हेलिकप्टर दुर्घटना भएको स्थलभन्दा केवल १० किलोमिटरको दूरीमा वेलिंटनमा हेलिप्याड थियो। सोही हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गर्नुपर्ने थियो। हेलिकप्टर दुर्घटना हुँदै गरेको देखेका प्रहरी र प्रत्यक्षदर्शीका अनुसार मौसम सफा थियो र बादल लागेको पनि थिएन।

अखबारसँग कुरा गर्दै एक प्रत्यक्षदर्शीले भने, ‘मैले देख्दा हेलिकप्टर निकै कम उचाइमा उडिरहेको थियो। अचानक यो मोडियो र एउटा रुखमा ठोक्कियो। त्यसपछि ठूलो विष्फोट भयो। हेलिकप्टर दुर्घटना हुँदा मौसम सफा थियो।’

हेलिकप्टर किन यति कम उचाइमा उडिरहेको थियो? पाइलटलाई एयर ट्राफिक कन्ट्रोल वा आर्मी कन्ट्रोलले मौसमबारे कुनै अलर्ट जारी गरेका थिए भन्ने प्रश्नमा तामिलनाडुको प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको बताएका छन्।

दुर्घटनाको समाचार पाएसँगै तामिलनाडु वेस्ट जोनका आईजी आर सुधाकर दुर्घटनास्थल पुगेका थिए। निलगिरी जिल्लामा माओवादी विरोधी अभियानमा रहेको स्पेसल टास्क फोर्सलाई पनि घटनास्थलमा जान निर्देशन दिइएको थियो।

दुर्घटनामा परेको हेलिकप्टरलाई भारतीय वायुसेनाको निकै सुरक्षित र विश्वासिलो मानिन्थ्यो। रुसमा बनेको एमआई–१७भी५ मोडलको विमान ठूलो उचाइ र राहत उद्धार कार्यमा प्रयोग गरिने गरिएको थियो।

प्लानेट–एक्स एयरोस्पेसका सर्भिसेज लिमिटेडका निर्देशक तथा सीईओले द हिन्दूसँगको कुराकानीमा भने, ‘एमआई–१७भी निकै विश्वसनीय विमान हो। उत्तराखण्डजस्ता राज्यमा उचाइमा राहत उद्धार कार्यको लागि यसको प्रयोग हुँदै आएको छ। वेलिंटन जान रावतले यो हेलिकप्टर छान्नु सही निर्णय थियो।’

सन् २००१ मा आन्ध्र प्रदेशका तत्कालीन मुख्यमन्त्री वाईएस राजशेखर रेड्डी चढेको हेलिकप्टर कुरनूलको पर्वतीय क्षेत्रमा भएको थियो। त्यतिबेला मौसम खराब थियो तर पाइलटलाई जबर्जस्ती विमान चलाउन दबाब दिइएको थियो। यो मामिलामा जाँचको कुनै पनि रिपोर्ट सार्वजनिक गरिएन। अन्य दुर्घटनामा पनि सोही चलन दोहरिँदै आएको छ। यसअघिका घटनाबाट कुनै पाठ नसिकिएको अखबारले लेखेको छ।

‘एमआई १७ को इन्जिन निकै बलियो छ। यसको डाउनवास पनि निकै प्रभावकारी छ। यदि पाइलटले कम उचाइमा विमान चलाइरहँदा रुखमा ठोक्किने सम्भावना भने हुन्छ। यो अवस्थामा पाइलटलाई हेर्नमा समस्या हुन्छ। यो अवस्थामा अनुभवी पाइलटले पनि राम्रोसँग ठम्याउन सक्दैनन्’, समाचारमा लेखिएको छ, ‘हेलिकप्टर आधुनिक एभियोनिक्स सहितको छ। यद्यपि कम भिजिबिलिटी र बादलभन्दा तल भएको अवस्थामा ल्याण्डिङ गर्नु कठिन हुन्छ। जसरी रुख ढलेको थियो, त्यो अवस्थालाई हेर्ने हो भने रोटर्स क्षतिग्रस्त भएको थियो। कम उचाइमा उडेको विमानको गति घट्यो भने त्यसको गति बढाउनु अर्को समस्या हो। यो हेलिकप्टरमा फुल अथोरिटी डिजिटल इलेक्ट्रोनिक्स कन्ट्रोल पनि राखिएको थियो। जसको कारण पाइलटले इन्जिनलाई धेरै दबाब दिन खोजे पनि एमएडीईसीले त्यसलाई रोकिदिन्थ्यो। यो मामिलामा आन्तरिक सैन्य जाँच हुनेछ र यसबारे सर्वसाधारणलाई कहिले पनि थाहा हुनेछैन।’

द इन्डियन एक्सप्रेसले पनि यस विषयमा समाचार लेख्दै यो हेलिकप्टर विश्वभर प्रचलित रहेको र यसमा डिजिटल फ्लाइट रेकर्डर र एक ककपिट भ्वइस रेकर्डर पनि रहेको बताएको छ। रावतको दुर्घटनामा परेको हेलिकप्टर सन् २००८ मा आएको ८० एमआई–१७भी५ खेपको हिस्सा थियो। हवाई उडानका विशेषज्ञ अंगद सिंहले सुरुमा ८० हेलिकप्टरको अर्डर दिइएकोमा त्यसलाई बढाएर १५० पुर्‍याइएको थियो।

दैनिक जागरणले पनि रावतको मृत्युको विषयमा लेखेको छ, ‘रावत यस्तो नाम हो जसले सही निर्णय लिने व्यक्तिको रुपमा चिनिन्थे। देशको पहिलो रक्षा प्रमुख भन्दा पहिला उनी स्थल सेना प्रमुख थिए। उनले यो पदमा रहेर धेरै महत्वपूर्ण फैसला लिएका थिए र त्यसलाई परिणामको रुपमा देखाएका पनि थिए।’

‘आफ्नो ४० वर्षको करियरमा जनरल रावतले गर्व र शौर्यबाट सेनामा कमिसन पाउनेदेखि देशको पहिलो रक्षा प्रमुख बन्ने सुनौलो यात्रा धेरै कोशेढुङ्गा पार पार्दै तय गरेका थिए। पूर्वोत्तरमा भारतलाई उग्रवादबाट मुक्ति दिलाउन रावतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए’, समाचारमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *